एजेन्सी ।
वेल्सका खेलाडी आरोन राम्सीले इटालियन सिरी ए फुटबलको डेब्यु खेलमै गोल गरेका छन् । इंग्लिस क्लब आर्सनलसँगको सम्झौता गएको जुलाईमा समाप्त भएपछि राम्सी इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका हुन् ।
उनले युभेन्टसबाट च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएको बुधबारको खेलमा ८६ औँ मिनेटमा मैदान छिरेर डेब्यु गरेका थिए । उनले सिरी ए मा शनिबार राति भएको वेरोनासँगको खेल मार्फत डेब्यु गरेका हुन् ।
२८ वर्षका राम्सीले ३१ औँ मिनेटमा सुन्दर गोल गर्दै घरेलु टोली युभेन्टसलाई बराबरीमा ल्याए । त्यसअघि नै २० औँ मिनेटमा वेरोनाका लागि पिन्तो वेलोसोले गोल गरेका थिए ।
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जित दिलाए । ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेपछि युभेन्टसको जित निश्चित भएको हो । इन्जुरी समयको चौथो मिनेटमा वेरोनाका कुम्बुला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
जितपछि साबिक विजेता युभेन्टस चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति नै भएको मिलान डर्बीमा एसी मिलानलाई २–० ले पराजित गरेको इन्टर मिलान १२ अंकसहित शीर्ष स्थानमा कायम छ । अर्को खेलमा ब्रेस्कियाले युडिनेसलाई १–० ले पराजित गरेको छ ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया