९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृष्णनगर बजारको अनुगमन



मायादेवी अनलाइन, कृष्णनगर ।
चाडपर्व नजिकिदै जादा कपिलवस्तुमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा नियमन निकायबाट चाडपर्व केन्द्रित बजार अनुगमनले तिव्रता पाएको हो । पछिल्लो समय कपिलवस्तुको कृष्णनगर बजारमा अनुगमन गरिएको छ ।
भारतीय सिमा क्षेत्रको बजार कृष्णनगरमा अनुगमन भएपछि स्थानीय खुशी भएका छन् । जिल्लाको पश्चिम क्षेत्रको कृष्णनगर बजारमा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा, इलाका प्रशासन कार्यालय चन्द्रौटा तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुको संयोजनमा कृष्णनगर बजार अनुगमन भएको हो ।
बजार अनुगमनमा ७० प्रतिशत व्यवसाय विना दर्ता संचालनमा रहेको भेटिएको छ । विना दर्ता संचालनमा रहेका व्यवसायहरु घरेलु तथा साना उद्योग कार्यालय तौलिहवामा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि ती पसलहरु दर्ता नभएको कार्यालयले जनाएको छ । दर्ता नभएका व्यवसायलाई १५ दिन भित्र कार्यालयमा आई दर्ता गर्न निर्देशन गरेको कार्यालय प्रमुख राजन केसीले जानकारी दिनुभयो । विना दर्ता संचालनमा रहेका पसलहरु आन्तरिक राजश्व कार्यालय कृष्णनगरबाट पान नम्बर लिएर मात्र व्यवसाय संचालन गरेको पाइएको हो ।
शुक्रबार कृष्णनगर बजार अनुगमन गर्दा म्याद गुज्रेका अखाद्य बस्तुहरु भेटिएको छ । जसमा तेल, गरम मसला, सब्जी मसला र बदामहरु भेटिएको र ती अखाद्य बस्तुलाई नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । कृष्णनगर बजारमा अधिकांश पसलहरुमा मूल्य सूची नराखेको, होटल रेष्टुरेन्ट अव्यवस्थित र किचेन फोहोरमैला रहेको पाइएको छ । किराना, खाद्यान्न, गल्ला, होटल रेष्टुरेन्ट, मिठाई, दुध डेरी लगाएतका बजारका २० पसलमा अनुगमन गरिएको थियो । गत हप्ता शिवराज नगरपालिकामा अनुगमन गरिएको थियो ।
दैनिक उपभोग्य वस्तुमा स्वच्छता तथा गुणस्तर कायम राख्न चाडपर्वका समयमा कपिलवस्तुमा बजार अनुगमन शुरु भएको हो । अखाद्य तथा गुणस्तरहीन उपभोग्य बस्तुको विक्री वितरणमा नियन्त्रण गर्न चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको छ । पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरुको खुलेयाम विक्री वितरण हुन थालेपछि सम्वन्धित निकायबाट बजार अनुगमन शुरु भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रदेश ५ सरकारले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तरियता र मुल्यमा सहजता कायम राख्ने बिषयमा विभिन्न निकायसंग आवश्यक समन्वय र सहकार्य गरिसेकेको छ । मन्त्रालयले बजारको नियमित अनुगमन, चाडपर्व लक्षित सुपथ पसलहरुको संचालनमा जोड दिदै सहज आपूर्तिको व्यवस्था मिलाउने योजना निर्माण समेत गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ६ : ३७ बजे