पाल्पा ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ अरखोरमा पिकअप जिप दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेशमी छन् ।
दुर्घटनामा परी घाइते रेशमीको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी बल्ढेगढीका प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । सत्यवतीबाट केलाटार जाँदै गरेको गा २ च २७१७ नंको जिप अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा एक जनाको मृत्यु
यस्तै सर्लाहिको सदरमुकाम मलङ्गवामा शनिबार नै भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नं को भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो । मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय राकेश पण्डित घाइते भएका छन् । राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक राकेश पण्डितको मलङ्गवा अस्पतालमा उपचार भइरहेको छ ।
हतियारसहित दुई जना पक्राउ
सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्जका ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन् । लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ प २३९२ र बिआर ०६ एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
अफिमसहित तीन जना पक्राउ
यता चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडस्थित कान्तिपुर गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको डाँडागाउँका २८ वर्षीय बालकृष्ण थापा, २६ वर्षीय डम्बर थापा र रोल्पाको थवाङ गाउँपालिकाका २७ वर्षीय दुख रोकाय रहेका छन् । बरामद गरिएको अफिमसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । रासस
प्रतिक्रिया