एजेन्सी ।
लियोनल मेस्सी र स्टार किशोर खेलाडी आन्सु फातीसहितको बार्सिलोना ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्तब्ध भएको छ । यो सिजन बढुवा भएर पुनः ला लिगामा आएको ग्रानाडाले स्टार खेलाडीसहितको बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो । पहिलो हाफमा बार्सिलोनाको टिममा मेस्सी र फाती थिएनन् । दोस्रो मिनेटमा नै रामोन अजीजले गोल गर्दै ग्रानाडालाई सुरुवाति अग्रता दिलाए ।
बार्सिलोनाका प्रशिक्षकले दोस्रो हाफमा टिममा मेस्सी र फातीलाई समावेश गरे । तर पनि गोल खायो बार्सिलोनाले । ग्रानाडाका लागि ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा अल्भारो माडिल्लोले गोल गरे ।बार्सिलोनाले पछिल्लो २५ वर्षयताकै खराब सुरुवात गरेको छ लिगमा । उसले सन् १९९४–९५ सिजन यताकै यस्तो खराब सुरुवात गरेको थिएन । उसले पाँच खेलबाट मात्रै सात अंक जोडेको छ र सातौँ स्थानमा छ ।
जित निकालेको ग्रानाडा पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिडले शनिबार राति नै भएको खेलमा सेल्टा डी भिगोसँग गोलरहित बराबरीमा रोकिएर शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । अरु खेलमा भिल्ला रियलले रियल भालाडोलिडलाई २–० ले पराजित गरेको छ भने लेभान्टे र एइबरले गोल रहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया