हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा २ राजपुरकी एक बृद्ध महिलाले बल्ल नागरिकता बनाएकी छन् । ७६ वर्षीय भक्तमाया ठकुरीले इलाका प्रशासन कार्यालय वाणगंगाबाट नागरिकता बनाएकी हुन् । गरिबी संगै नागरिकताको महत्व थाहा नपाउदा हालसम्म नागरिकता नबनेको भक्तमायाले बताइन् । भक्तमाया २०३९ सालमा लमजुङ्गदेखि वाणगंगाको निबुवामा बसाई सराई गरी आएकी थिइन् । हाल उनी वाणगंगा २ राजपुरको ताप्केमा आफना जेठो छोरासंग बस्दै आएकी छिन् ।नागरिकता पाएपछि बल्ल नेपाली भएको भन्दै उहाँले खुसी ब्यक्त गर्नुभएको छ ।
महोत्तरीमा जन्मभई लमजुङ्गका विवाह भएकी भक्तमायाको ४ छोरा र २ छोरी छन् भने १ छोरा वेपत्ता छन् । श्रीमान्को मृत्यु र अन्य कागजी प्रकृया नुपग्दा नागरिकता बन्नमा हालसम्म ढिलाई भएको थियो । रोजगारीको शिलशिलामा पहाडबाट तराई कपिलवस्तु आएको उनका परिवारले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । नागरिकताको महत्व नबुझदा र छोराहरुको वेवास्ताका कारण आमाको नागरिकता नबनेको निजका छोरा माइला ठकुरीले बताए ।
इलाका प्रशासन कार्यालय वाणगंगाले ७६ वर्षीय भक्तमायालाई माइती घरको विवरण, पति रहेको जिल्लाको विवरण, प्रहरी मुचुल्का र वडाको सिफारिसका आधारमा नागरिकता वितरण गरेको छ । छोराहरुको नागरिकता बनिसकेको र हालसम्म आमाको नागरिकता नबनेको हुँदा सनाखत र अन्य कागजात भिडाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख सागर अधिकारीले बताउनुभयो ।
बृद्ध अवस्थामा आर्थिक समस्या र छोराछोरीले बेवास्ता गर्दा नागरिकता बनाउनु परेको भक्तमायाले बताइन् । बृद्ध भत्ता लगाएत सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित हनु परेकोले नागरिकता बनाउन आएको उनले बताइन् । ७० वर्षको उमेर पुगेपछि बृद्ध भत्ता, स्वास्थ्य बीमा लगाएतका अन्य सेवा सुविधा प्राप्त गर्न सहज हुने कार्यालय प्रमुख अधिकारीले बताए ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया