९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको जितपुर अटो ब्यवसायको हब, दुई करोडको दर्शन मल्टी अटो भिलेज खुल्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुकै केन्द्रको रुपमा विकसित हुँदै गएको बाणगंगा नगरपालिका अटो क्षेत्रको हब बन्दै गएको छ । साना तथा ठुला सवारीको विक्रिवितरण तथा मर्मतको लागि अहिले यस क्षेत्रमा अटो ल्याण्ड तथा वर्कसपहरु धमाधम खुलीरहेका छन् । बाणगंगा नगरको ४ नम्बर र वैरियामा मात्र अहिले दर्जन बढी अटो ब्यावसायहरु संचालनमा आएका छन् । यस्तै केही अटो ब्यावसाय संचालनको तयारीमा छन् ।
अटो ब्यावसाय खुल्ने क्रममा बुधबार दर्शन मल्टी अटो भिलेज एण्ड वर्कसपको उद्घाटन भएको छ । करिब २ करोडको लगानीमा जितपुरमा स्थापना भएको अटो भिलेजको विश्वकर्मा पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल र अटो भिलेजका संचलकद्धय विरेन्द्र खाँण र नरेन्द्र खाँणका बुबा मोहन बहादुर खाँणले रिवन काटेर ब्यावसायको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । अटोभिलेजको उद्घाटन गर्दै वडाध्यक्ष क्षेत्रीले पछिल्लो समयमा सवारी साधन प्रयोगकर्ताहरुको चाप बढ्दै गएकाले यस ब्यावसायको राम्रो सम्भावना भएको बताउनु भयो । उहाँले नगरपालिकाको योजना पनि नीजि लगानीकर्तालाई प्रोत्साहन गर्ने रहेको भन्दै लगानीबाट हतोत्साही नहुन आग्रह गर्नुभयो ।
उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले स्वदेशमा युवाहरुले केही गर्छु भन्ने सोँच राख्नु नै उदाहरणीय भएको बताउनु भयो । उहाँले दिनप्रतिदिन मानिसहरुमा सवारी मोह बढेकाले अटो ब्यावसायमा युवाहरुको आकर्षण बढेको बताउँदै यसको लागि राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । संचालकद्धय वीरेन्द्र खाँण र नरेन्द्र खाँणले अब सवारी मर्मतको लागि बुटवल र काठमाण्डौँ धाउनुपर्ने बाध्यतालाई आफूहरुले चिर्ने बताउनु भयो । हाइड्रोलिक प्रविधिबाट गाडी चेक जाँच र मर्मत, कम्यूटरबाट गाडीका समस्याका पहिचान आदि प्रविधि आफूहरुकोमा रहेकाले अब बुटवल काठमाण्डौँ धाएर समय र पैसा खर्च नगर्न संचालक नरेन्द्र खाँणले सबैलार्ई आग्रह गर्नुभयो । एकैपटकमा दुई वटा साना ठुला सवारीकोे सर्भिसिङ तथा जाँच गर्न सक्ने क्षमतामा अटोभिलेजको संचालन गरिएको श्रेष्ठले बताउनु भएको छ । अटो भिलेजका संचालक वीरेन्द्र खाँणले अटोभिलेज महेन्द्र कम्पनीको पार्टस् र सर्भिसिङको कपिलवस्तुको आधिकारीक डिलर भएकाले महेन्द्रा कम्पनीका जुनसुकै सवारीको जाँच तथा मर्मतमा विशेष सहुलियत हुने जानकारी दिनुभयो । अटोभिलेजमा सानाठुला जुनसुकै सवारीको अत्याधुनिक प्रविधिबाट मर्मत तथा जाँचको हुने बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  ७ : १० बजे