९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अर्घाखाँची पुगेर मुख्यमन्त्रीले भने, ‘एक बर्ष भित्रमा प्रदेश ५ को राजधानी टुङ्गो लाग्छ’



बिष्णु कुमार आले, अर्घाखाँची ।
मुख्यमन्त्री शंकर पोख्रेलले वर्तमान सरकार पुरानो सरकारको निरन्तरता नभएको बताउनु भएको छ । प्रेस संगठन अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले व्यवस्था परिवर्तन पछि बनेको नेकपा नेतृत्वको सरकारले विभिन्न चुनौतीका बीच देश र जनताको पक्षमा दृढता पुर्वक काम गरेको उल्लेख गर्नुभयो ।
सामन्ती राजसंस्थाको अन्त्य गरि जनताको सरकार निर्माणबाट यथास्थितिवादीहरु अत्तालिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले संविधानमा जारी भएको अधिकारलाई कार्यान्वयको दिशामा सरकार अघि बढेको बताउनु भयो । उहाँले एक बर्ष भित्रमा प्रदेश ५ को राजधानी र नामाकरणको टुङ्गो लगाउने बताउनु भयो ।
उहाँले सुझाव संकलन समितिको सिफारिस र बिज्ञहरुको सुझावको आधारमा सहमतिबाट नै राजधानी र नामाकरण टुंगो लगाउने बताउनु भयो । संघीयता मुलुकको बिकास, समृद्धि र सामाजिक न्यायको हिसाबले निक्कै महत्वपुर्ण भएको भन्दै उहाँले नेपालको संविधान लागु भएपछि संघीयतामा थप भएको प्रदेश सरकार हो, स्थानीय र केन्द्रिय सरकार पहिला पनि थिए, प्रदेश सरकारको प्रगति बढि भएको बताउनु भयो ।
५ नम्बर प्रदेशमा पतिपक्ष दलसँग पनि सहकार्य गर्दै अगाडि बढेको भन्दै उहाँले कुनै विवाद नरहेको र सरकारको भावना अनुसार अगाडी बढेकोमा प्रतिपक्षलाई धन्यवाद दिदैँ प्रदेश ५ को गतिविधीलाई निहाल्दै केन्द्रमा समेत सहकार्य गरेर अघि बढ्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
५ वर्षसम्म नेपाली जनताले नेकपालाई बहुमत सहित सरकार चलाउन दिए, ५ वर्षसम्म ढुक्क सरकार चलाउँछौँ, प्रतिपक्षीलाई नआत्तिकन बस्न आग्रह गर्दै सहकार्य गरेर अगाडी बढ्नुपर्छ, नेकपा लोकतान्त्रिक प्रक्रियामा सधै अगाडी बढ्छ, सरकारको समयअवधि सकिएपछि पुनः निर्वाचन गछौँ, जसको बहुमत आउँछ, उसैले सरकार चलाउँनुपर्छ, अहिल्यै अत्तालिनुपदैँन् उहाँको भनाई थियो ।
संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताउँदै उहाँले संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको बताउनुभयो । विकासका काममा जनताको खर्च घटेको छ । त्यही नै संघीयताको मुल मर्म हो । प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताउनुभयो ।
प्रदेश नम्बर ५ सरकार गतवर्ष कानुन निमार्णमै ध्यान दिएकाले करिब ५० वटा कानुन बनिसकेकाले अन्य प्रदेशका तुलनामा प्रदेश ५ अगाडि रहेको बताउनुभयो । दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नु भयो । राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने उहाँको भनाइ छ ।
अर्घाखाँची सँगसँगै प्रदेश ५ सरकारकै गौरवको आयोजना हुनेगरी नौमुरे जलविद्युत परियोजनाको काम अगाडी बढाउन आफूहरुले पहल थालेको बताउनु भयो । केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्ने उहाँको भनाइ थियो ।
क्याम्पसको जिम्मेवारी पनि प्रदेश सरकारसँग आउँदै छ, प्रदेशस्तरिय विश्वविद्यालय अन्र्तगत सबै क्याम्पसहरुलाई व्यवस्थित रुपले सञ्चालन गछौँ, पोख्रेलले भन्नुभयो । मुख्यमन्त्री भएपछि अर्घाखाँचीको सदरमुकाममा पहिलोपटक आउनु भएका पोख्रेलले समृद्ध प्रदेश बनाउँनका लागी सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
त्यस्तै जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा प्रदेश ५ की नेकपाका अध्यक्ष एवं पुर्व सभामुख ओनसारी घर्तिले हाम्रै जिवनकालमा यो देशमा समाजबाद ल्याएरै छाड्ने बताउनु भयो । अध्यक्ष घर्तीले ठुला दुई पार्टीको एकता सरकार चलाउन र भोट लिन मात्र नभएर देशमा समाजबाद र परिवर्तन गरि कायापलट गर्न एकता भएको बताउनु भयो । कार्यक्रम प्रेस संगठनका नेता हिम बहादुर जि.सी. लेकालीको अध्यक्षता गणेश खनालको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.को संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ईन्चार्ज संकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती, सचिव जग प्रसाद शर्मा अपार, केन्द्रीय सदस्य नजिर मियाँ, बोम बहादुर बि.क., शुशीला श्रीपाली लगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ६ सय भन्दा बढि नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  १० : २३ बजे