९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु खुला दिसा मुक्त !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको प्रमुख चुनौतीको रुपमा रहेको खुला दिसा मुक्त घोषणा गर्ने अभियानले मङ्गलबार सार्थकता पाएको छ । विं.सं. २०६७ साल देखि जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान चलाइए पनि अभियानले आज आएर सार्थकता पाएको हो ।
साविक लुम्बनी अञ्चलमा ६ जिल्ला मध्ये ५ जिल्ला संघीयता लागु नहुँदै खुला दिसा मुुक्त भएपनि कपिलवस्तु हुन सकेको थिएन । सिंगो लुम्बिनी अञ्चललाई नै खुला दिसा मुक्त घोषणा गर्न कपिलवस्तु बाधक बनेको थियो । पछि संघीयता लागुसंगै बनेको प्रदेश ५ मा पनि कपिलवस्तु नै बाधक हुन पुग्यो । बुद्धभूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु मङ्गलबार खुला दिसा मुक्त क्षेत्र भएसंगै अब छिट्टै प्रदेश नै खुला दिसा मुक्त हुँदै छ ।
प्रदेश सरकार गठन भएको झण्डै दुई बर्ष पछि कपिलवस्तु आज खुला दिसा मुक्त घोषणा भएको हो । यद्यपि जिल्लालाई कसरी खुला दिसा मुक्त क्षेत्र घोषणा गरियो विभिन्न टीकाटिप्पणी भने उठेका छन् । सरकारले मुलूकलाई असोज १३ गते खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्दै छ । त्यसैको दबाबमा कपिलवस्तु खुला दिसा मुक्त भएको सरोकारवालाले टीप्पणी गर्ने गरेका छन् ।
सरकारले सन् २०१५ भित्रै मुलूकलाई नै खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएको थियो तर सन् २०१९ को अन्तिम समयमा आएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न थालेको हो ।
कपिलवस्तुमा खुला दिसा मुक्त घोषणा गर्ने अभियान एक दशक सम्म चल्यो । यसकै लागि करोडौं बजेट सकिए पनि अभियान सोचेजस्तो भने हुन सकेको छैन् । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबै स्थानीय तह खुला दिसा मुक्त भएसंगै सिंगो जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो ।
तौलिहवामा भएको खुला दिसा मुक्त घोषणा सभामा प्रमुख अतिथको रुपमा प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा आउनुभएको थियो । उहाँले कपिलवस्तु खुला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । झाले जिल्ला खुला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाईका लागि कार्यक्रम सञ्चालन गर्न जोड दिनुभयो । मानिसका आनीबानी परिर्वतनमा सुधार नआएसम्म यसले पूर्णता पाउन नसक्ने भन्दै यता तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जिल्ला खुला दिसामुक्त भएसंगै अब पूर्ण सरसफाई तर्फ जानुपर्ने कुरा जोडदारले उठान गरेका थिए । कार्यक्रममा यस अभियानमा खट्ने दर्जनौं व्यक्तिलाई सम्मान गरिएको थियो ।
यसैबीच खुला ठाउँमा कार्यक्रम राखिए पनि बर्षाले कार्यक्रमलाई प्रभावित पारेको छ । विहानको झरीले कार्यक्रमलाई प्रभावित पारेको हो । कार्यक्रम कपिलवस्तु नगरपालिकाको सभाहलमा राखिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ६ : ५९ बजे