९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सिंगो कपिलवस्तु मङ्गलबार खुला दिसामुक्त हुँदै



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु जिल्ला मङ्गलबार खुला दिसामुक्त घोषणा हुँदै छ । कपिलवस्तुकै कारण सिंगो ५ नं. प्रदेश खुला दिसामुक्त हुन नसकेको अवस्थामा जिल्लालाई भोली खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । जिल्ला खुला दिसामुक्त घोषणा गर्नु पूर्व जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा भैसकेका छन् ।
नेपाल सरकारले सन २०१५ भित्र सिंगो मूलुकलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्य तोकिएको समयमा पूरा हुन सकेन् । सरकारले यही असोज १३ गते सिंगो मूलुकलाई नै खुल्ला दिसा मुक्त भएको घोषणा गर्दै छ । यही क्रममा कपिलवस्तुमा अभियानले तीव्रता पाएको हो ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु पूर्व दुई दिनमा दुई नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आइतबार कृष्णनगर नगरपालिका र सोमबार आज कपिलवस्तु नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।
कपिलवस्तुमा खुला दिसामुक्तको अभियान २०६७ साल देखि सुरु भएको थियो । तर, अभियानमा करोडौं रकम खर्च गरेपनि अभियानले सार्थकता पाउन सकेको थिएन् । जिल्लामा पटक पटक खुला दिसामुक्त घोषणा गर्ने मिति तोकिए पनि घोषणा हुन नसकेको हो ।
तौलिहवामा जिल्ला खानेपानी तथा सरसफाई समन्यव समितिले घोषणाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनको अयोजना गरि भोली हुने कार्यक्रमको जानकारी गराएको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएकोे पत्रकार सम्मेलनमा जिल्ला खुला दिसा मुक्त हुन लागेको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी कार्यालयका इन्जिनियर किरण न्यौपानेले राष्ट्ले लिएको लक्ष्य कपिलवस्तुमा पनि पूरा हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । तोकिएको समय भित्र अभियान सक्न नसके पनि अहिले हुन लागेको भन्दै पत्रकारलाई यस विषयमा कलम चलाएर सघाउन आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ लामिछानेले भोली विहान ११ बजे तौलिहवामा भव्य समारोहको आयोजना गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्न लागिएको बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झा आउनुहुने उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सबैको सहयोगले जिल्लालाई भोली सामाजिक विकासमा ठूलै सफलता दिन थालिएको भन्दै खुसी व्यक्त गर्नुभयो । मानव स्वास्थ्यमा पानी र सरसफाईको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यसमा जिल्लाले फड्को मार्न लागेको बताउनुभयो । अझै पनि पूर्ण रुपमा शौचालय निर्माण नभएको र बनेका शौचालय पनि प्रयोगमा नआएको भन्दै आगामी दिनमा यसमा ध्यान दिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिव तथा मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको संञ्चालनमा भएको पत्रकार सम्मेलनमा पत्रकार खग प्रसाद चापागाई, गोपाल भण्डारी, मोहन बेल्वासे, दिपक अनुरागी, दिलिप कुमार यादव, गुलाम अली, पार्वती आचार्य लगायतले खुला दिसा मुक्त घोषणाबारे विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  ७ : ४६ बजे