९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा नं. ७ मा डेंगु रोगको रोकथाम र नियन्त्रण सम्बन्धी सचेतना



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ घेरवा वनगाईको आयोजनमा डेंगु रोगको रोकथाम र नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम तथा सरसफाई घेरवा वनगाईमा सम्पन्न गरेको छ ।
सो सचेतना कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्नु भएको थियो । डेंगु रोगबाट नेपालका ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएका र वाणगंगा नगरपालिकाका विभिन्न वडामा पनि डेंगु रोगी फेला परिसकेकोले वडाबासी सचेत बन्नुपर्नेमा वडाध्यक्ष गिरीले जोड दिनुभयो ।
डेंगुको कारण वाणगंगामा २ जनाको ज्यान समेत गईसकेकोले लामखुट्टेको टोकाइबाट वच्नु नै डेंगु रोगबाट बच्ने मुख्य उपाय भएको कुरामा उहाँले चर्चा गर्नुभयो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु ज्वरो भएको र डेंगु संक्रमित पोथी लामखुट्टेको टोकाईले यो रोग लाग्ने गर्छ ।
यसका लक्षणहरुमा वाकवाकी लाग्ने, बान्ता लाग्ने, पेट दुख्ने, नाक र गिजाबाट रगत बग्ने रक्तश्राव हुने, शरीरमा नीलडाम देखा पर्ने, बेहोस वा अचेत हुने गर्दछ । यसबाट वच्नका लागि सुत्दा झुलको प्रयोग गर्ने, घर आँगन, कौशीको हरहमेसा सरसफाई गर्ने, पानी जम्न नदिने, पुरै शरीर ढाक्ने गरी बाहुला भएको लुगा लगाउने गर्नु पर्दछ ।
कार्यक्रममा घेरवा वनगाई टोल विकास समितिका अध्यक्ष मान बहादुर कार्की, सचिव गीताराम घिमिरे, विद्यार्थी, जन प्रतिनिधी, स्वास्थ्य स्वयमसेविका, बुद्धिजिवीहरुको सहभागिता रहेकोे थियो ।
कार्यक्रममा “डेंगु रोग विरुद्ध लार्भा नष्ट गरौं, घर आँगन सफा राखौं” जस्ता प्ले कार्ड लेखिएको थियो । साथै जनप्रतिनिधी, स्वास्थ्यकर्मी, स्वयमसेविका, टोलीबाट वडा नं. ७ घेरवा वनगाईकोे मुख्य वजारमा रहेका होटल व्यवसायी, शिव मन्दिर टोल, साईकल मर्मत केन्द्रमा पुगेर स्थलगत अनुगमन गरी सबैमा सचेतनामूलक कार्यक्रम तथा सरसफाई गरेको थियो ।
वडा न.७ को जनप्रिय टोल बिकास संस्था, प्रगतीशिल टोल बिकास संस्था, देउराली टोल बिकास संस्था मोतिपुर, मोतिपुर डाँडा टोल, धैरेनी डाँडा टोल र आदर्श टोल बिकास संस्थाले पनि डेंगु रोगको रोकथाम र नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक विद्यालय र सबै टोलमा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि घरदैलो गरी अभियानको रुपमा अगाडी बढाई डेंगु रोग मुक्त वडा घोषणा गर्ने वाणगंगा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले वताउनु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६ शनिबार ००:००  ७ : ०८ बजे