९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चन्द्रौटामा म्याद गुज्रेका सामान विक्री वितरण हुने गरेको खुलासा



मायादेवी अनलाइन, चन्द्रौटा ।
दैनिक उपभोग्य वस्तुमा स्वच्छता तथा गुणस्तर कायम राख्न चाडपर्वका समयमा कपिलवस्तुमा बजार अनुगमन शुरु भएको छ । अखाद्य तथा गुणस्तरहीन उपभोग्य बस्तुको विक्री वितरणमा नियन्त्रण गर्न चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको हो ।
पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरुको खुलेयाम विक्री वितरण हुन थालेपछि सम्वन्धित निकायबाट बजार अनुगमन शुरु भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।
चाडपर्वका बेला जनताले उपभोग गर्ने दैनिक खाद्य बस्तुहरु म्याद गुजे्रका र तोकिएको मूल्य भन्दा बढि मूल्यमा विक्री वितरण गरेको बजार अनुगमनमा पाइएको छ । शुक्रबार जिल्लाको चन्द्रौटा बजार अनुगमनका क्रममा पसलहरुमा कुकिज विस्कुट, फेन्टा, स्लाइस, किटक्याट, बदाम र गरम मसाला जस्ता म्याद गुज्रेका सामान भेटिएपछि नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालय चन्द्रौटा, शिवराज नगरपालिकाको संयुक्त अनुगमन टोलीलले १६ वटा पसलहरुमा अनुगमन गरेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले पसल तथा होटलहरुको सरसफाई, समानको उपयुक्त भण्डारण, व्यवसाय नविकरण, मूल्यसूची राख्दै एमआरपि मूल्य भन्दा बढिमा विक्री नगर्न निर्देशन दिनुभएको छ । उहाँले बजार अनुगमनमा देखिएका कमजोरीहरु हटाएर १५ दिन भित्र व्यवसायीले सुधार गरेको लिखित जानकारी कार्यालयलाई गराउन पनि अनुरोध गरिएको बताउनुभयो । उपभोक्ताहरु ठगिन नपरोस्, गुणस्तरिय उपभोग्य बस्तुको विक्री वितरण र सर्वसुलभ मुल्यमा विक्री वितरण गर्नुपर्ने अनुगमन टोलीले बताएको छ ।
यसैवीच प्रदेश ५ सरकारले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तरियता र मुल्यमा सहजता कायम राख्ने बिषयमा विभिन्न निकायसंग आवश्यक समन्वय र सहकार्य गरिसेकेको छ । मन्त्रालयले बजारको नियमित अनुगमन, चाडपर्व लक्षित सुपथ पसलहरुको संचालनमा जोड दिदै सहज आपूर्तिको व्यवस्था मिलाउने योजना निर्माण समेत गरिसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६ शनिबार ००:००  ५ : ५२ बजे