बुटवल ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बन्दै गएको बताउनुभएको छ । भ्रष्टाचार पुरै रोक्न नसकिए पनि यसप्रति सरकार निर्मम बनेको उहाको दाबी छ ।
प्रेस संगठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले भ्रष्टाचार बिरुद्ध सरकार निर्मम बनेकै कारण भ्रष्टाचारको आरोप लागेकाहरु आत्महत्याको तहसम्म पुगेको बताउनुभयो ।
हिजो मालपोत, भन्सार कार्यालय, वैदेशिक रोजगार विभाग जस्ता निकायमा जान लालायित हुने कर्मचारीहरु सरकारले त्यहाँका प्वाल बन्द गरिदिएका कारण आज त्यहाँ जान इच्छुक नभएको भन्दै मन्त्री ज्ञवालीले त्यो नै भ्रष्टाचार बिरुद्ध सरकार निर्मम बनेको उदाहरण भएको दाबी गर्नुभयो ।
पछिल्लो समय विदेशमा नेपालको छवि राम्रो हुँदै गएको र छिमेकी मुलुकहरुको नेपालप्रतिको रुचि तथा आकर्षण बढ्दै गएको बताउदै उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा चीन नेपालको विश्वासिलो विकास साझेदार समेत बन्दै गएको बताउनुभयो ।
उहाले उपयुक्त समयमा चिनियाँ उच्चस्तरीय राजनितिक तहबाट नेपालको भ्रमण हुने बताउनुभयो । आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने चर्चासँगै परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ उच्चस्तरिय राजनीतिक तहबाट नेपालको भ्रमण हुनेमा आफुहरु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
मन्त्री ज्ञवालीले यसैसाता पुरा भएको पेट्रोलियम पाइपलाईनको उद्घाटनले पनि चिनसँगै नेपाल र भारतको सम्बन्ध पनि सुमधुर बन्दै गएको पुष्टि गरेको बताउनुभयो । भारतीय खुल्ला सिमानाको दुरुपयोग गरी अवाञ्छित कृयाकलाप नबढोस् भन्ने तर्फ सरकार सचेत रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सिमा निर्धारण र सिमा स्तम्भहरुलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो ।
वर्तमान सरकारले धेरै राम्रा कामहरु गरेको भएपनि जनताको अपेक्षाहरु धेरै भएका कारण ओझेलमा परेको बताउनुभयो । ‘२८ महिनामा पुरा गर्ने लक्ष्य लिएको पेट्रोलियम पाइपलाइन १६ महिनामै सकियो, भेरी बबई डाईभर्सन, गौतमबुद्ध विमानस्थल लगायतका विकास आयोजना पनि लक्ष्य अनुसार निर्माण सम्पन्न भइरहेको छ’ उहाले भन्नुभयो ।
२७ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया