९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रोल्पा पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो



रोल्पा ।
रोल्पाको थवाङ गाउँपालिकामा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार राति आएको पहिरोमा परी दुई परिवारका ६ जनाको मृत्यु भएको हो ।
रोल्पाको सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको पुरेको हो ।
पहिरोमा परी मृत्यु हुनेमा ठिरकुमारी र उनका चार वर्षीय छोरा असल बुढाको मृत्यु भएको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले नेपालखबरलाई जानकारी दिए । ठिरकुमारीका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै छन् ।
त्यस्तै पहिरोमा अर्को परिवारको चार जना सदस्यको पनि मृत्यु भएको उनले जानकारी दिए ।
अध्यक्ष वीरबहादुरका अनुसार आफ्नो घर पहिरोमा पर्ने भएपछि ठिरकुमारीको घरमा आश्रय लिन गएका जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि सोही घटनामा मृत्यु भएको छ ।
अहिले शव पोष्टमार्टमको लागि डाक्टरको टोली घटनास्थलतर्फ गइरहेको अध्यक्ष वीरबहादुरले बताए । उनका अनुसार पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

यसैगरी रोल्पाको सोही क्षेत्रबाट निर्वाचित ऊर्जामन्त्री वर्षमान पुनले पहिरो घटना दुखद् भएको भन्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । ‘रोल्पा थबाङ गापा–२ छेर्लोबाङमा पहिरोमा परी ठिरकुमारी बुढाको परिवारका ६ जनाको दुखद् मृत्युको घटनाले स्तब्ध बनाएको छ । मृतकप्रति श्रद्धाञ्जलि एवं शोकाकुल परिवार र आफन्तमा गहिरो समवेदना ब्यक्तगर्दछु’, मन्त्री पुनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६ शुक्रबार ००:००  ४ : ३१ बजे