मायादेवी अनलाइन, तौलिहवा ।
तराई मधेसमा मुर्हरम पर्व धार्मिक सद्भावको पर्वका रुपमा विकासित हँुदै गएको छ । मुस्लिमहरुको पर्व हिन्दुहरुले समेत मनाउन थाले पछि यो पर्वले साम्प्रदायिक सद्भाव कायम गरेको हो । मुस्लिम समुदायले मनाउने पर्व हो मुर्हरम । तराई मधेसमा मुर्हरम हिन्दु समुदायले पनि मनाउँदै आएका छन ।
तराई मधेसमा लोकप्रिय बनेको मुर्हरम पर्व मुस्लिम र हिन्दु समुदायले मनाउन थाले पछि यसले धार्मिक सद्भाव समेत कायम गरेको हो । तराईमूलका हिन्दु थारु समुदायमा समेत यो पर्व मनाउन थाले पछि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ ।
हिन्दुहरुले समेत मनाउन थाले पछि यो धार्मिक सद्भावको रुपमा विकसित हँुदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले यो पर्व एकैसाथ मनाउने गर्दछन् । तराईका हिन्दु मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थाले पछि छुट्टै रौनकता थपिएको छ । भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संमृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउँछन् ।
यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ । मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा आईतवार ताहाजिया खरिद गर्न आएका कपिलवस्तु नगरपालिका– ९ तेनुहवाका बन्सीधर बाँनियाले एक दशक अघि देखि मुर्हरम मनाउन थालेको बताए ।
‘यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आंगालेका हौ ’ उनले भने । उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए । तौलिहवामा उनले ४ सय रुपैयाको तहाजिया किनेको थिए । मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउँदा आफुलाई निकै खुशी लागेको उनले खुशी ब्यक्त गरे ।
यस्तै बजारमा मुर्हरमकै लागि बजारमा शुक्रवार तहाजिया किन्न आएका कपिलवस्तु नगरपालिका– ९ निग्लिहवाका नाथु थारुले बाजेकै पालादेखि मनाउदै आएकोले आफुले पनि त्यसलाई निरन्तरता दिएको बताए । ‘बाजेकै पाला देखि मुर्हरम मनाउँदै आएका छौ, मलाई पनि राम्रो लागेकोले आंगेको हुुँ’ उनले भने । केही बर्ष अघि सम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरुको संख्या बढ्दै गएको छ ।
यसले धार्मिक सद्भाव समेत कायम राख्ने दुबै धर्मगुरुहरु बताउँछन । अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अंगालेकोले सद्भाव कायम गर्न यसले निकै मुद्दत मिलेको अधिकारकर्मी रबि ठाकुरले बताए । ‘देशमै मुस्लिमहरुको दोस्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुबै समुदायले सामुहिक रुपमा यो पर्व मनाएकोले एकआपसमा भाईचारा कायम गरेको छ’ उनले भने ।
आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ । ईस्लामिक नयाँ बर्ष हिजरी संबत् शुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ । घरमा पुजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन छ ।
हिन्दुहरुले घरमा पुर्जा गर्दा ढोल, तासा लगायतको बाजा बजाउने गर्दछन् । मुस्लिम समुदायले भने मुर्हरमका दिन साहसिक प्रर्दशन गर्ने गर्छन् । १४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफु सहीत ७२ जना पुरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।
अरब देशको क्यालेन्डर अनुसार मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । इस्लामिक नयाँ बर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन् । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए ।
२४ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया