९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रविलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतमा निवेदन



मायादेवी अनलाइन, काठमाडौं ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले फेरि नया मोड लिएको छ ।
पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परी धरौटी तिरेर रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उनका सहकर्मी युवराज कँँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा निवेदन दिए पछि घटनाले नयाँ मोड लिएको हो ।

सोमबार सरकारी वकिलको कार्यालयले निवेदन दिएको उच्च अदालत श्रोतले जानकारी दिएको छ। निवेदनबारे आज मंगलबार नै आदेश आउने स्रोतको दाबी छ।

पत्रकार पुडासैनी गत २० साउनमा चितवनको कंगारू होटेलको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । मर्नुअघि उनले आफ्नो मोवाइलमा रेकर्ड गरेको भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको बताएका थिए।

सोही भिडियोको आधारमा चितवन प्रहरीले तीनै जनालाई ११ दिनसम्म हिरासतमा लिएर अनुसन्धान गरेको थियो। पछि अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटी लिएर छाड्ने आदेश दिएको थियो भने अस्मितालाई साधारण तारेखमा छाड्न भनेको थियो।

रिहा भएको केही समयमा टेलिभिजन प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदातले तोकेको धरौटीविरुद्ध पाटन उच्च अदालतको हेटौडा इजलासमा पुनावलोकनको लागि मुद्दा दर्ता गराएका थिए । त्यसैको जावाफ स्वरुप सरकारी वकिलको कार्यलयले तीनै जनालाई पुर्पक्षको लागि थुनामा राखी अनुसन्धानको अनुमति दिन निवेदन दर्ता गराएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६ मंगलबार ००:००  ८ : ३० बजे