९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवराजको निर्माणधिन भवनको पक्षमा थारु समुदाय, पक्षमा निकाले जुलुस



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाको भवन निर्धारित स्थानमै बन्नुपर्ने माग राख्दै थारु समुदायले नगरप्रमुख उपप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
गाउँगाउँबाट ¥यालीसहित आएका थारु समुदाय चन्द्रौटा बजार परिक्रमा गर्दै नगरपालिका प्राङ्गणमा कोणसभामा परिणत भएका थिए । शिवराज नगरपालिकाको भवन शिवराज ५, दक्षिण रहटकोलमा निर्माणका लागि ठेक्का सम्झौता भएकै ठाउँमा तत्काल निर्माण कार्य शुरु गर्न माग राख्दै ज्ञापन पत्र नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी थारुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
थारु कल्याणकारिणी सभा जिल्ला सचिव एवं शिवराज नगरअध्यक्ष जगतदेव थारुको नेतृत्वमा थारु समुदायका झण्डै २ सय महिला पुरुष नगरपालिका पुगेका थिए । केही राजनीतिक अगुवा भनाउँदाहरुले थारु बस्तीमा नगरपालिका लैजान नदिने विभिन्न चलखेल गरेपछि गाउँगाउँबाट थारु समुदाय स्वतः स्फूर्त रुपमा सडकमा उत्रिएको थारु अगुवा सुमन थारुले बताए ।
व्यक्तिगत स्वार्थ पूर्ति गर्न र आफ्नो जग्गाको कारोबार बढाउन ती नेता भनाउँदाले थारु बस्तीमाथि कूदृष्टि लगाएको थारु अगुवाहरुको आरोप छ । सोझा साझा थारुलाई दास सम्झने उनीहरुले थारु समुदायको विकास भएको देख्न नचाहेको थारु अगुवा बुधराम थारुले बताए । “अब थारुहरु पनि बुझ्ने भइसकेका छन्, थारुलाई अब सजिलै नचाउछु भनेर नचिताए हुन्छ” – थारु अगुवा भग्गन थारुले बताए ।
बगैंचा फाँडेर र थारु बस्तीलाई उठिबास हुने गरी नगरपालिकाको भवन निर्माण गर्न लागेको भनेर जनताको आँखामा छारो हाल्दै अदालतमा हालेको रित तुरुन्त फिर्ता लिई नगरपालिकाको भवन निर्माण कार्यमा अवरोध नगर्न थारुले आग्रह गरेका छन् । यदि अवरोध गरेमा गाउँ गाउँ, बस्ती बस्ती, घरघरबाट थारुहरु सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले सबैलाई पायक पर्ने स्थानमा नगरपालिकाको भवन बन्न लागेकाले सोही ठाउँमै बन्ने आश्वासन दिए । केही व्यक्तिले व्यक्तिगत स्वार्थ सिद्धिका लागि नगरपालिकाको योजना विफल पार्न विभिन्न रणनीति अपनाएपनि सफल नहुने बताए । नगरप्रमुख अधिकारीले उत्तर धानखोला, दक्षिण जवाभारी र पूर्व थुन्हियासम्मका बासिन्दाका लागि केन्द्रविन्दु पर्ने स्थान नै अहिले बन्न लागेको भवनस्थल भएको उद्घोष गरे । थारु समुदायले आफ्ना अट्वारी पर्वलाई समेत थाती राख्दै हक अधिकारका लागि नगरपालिकाको साथमा रहेकोमा आफूलाई आत्मबल मिलेको उनले बताए । अदालतको टोली अनुगमनमा आउँदा थारु समुदायहरु यसरी नै उनीहरु सामु यथार्थ कुरा गरी साथ दिन आग्रह गरे ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ६ : ०० बजे