९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा लामखुट्टे खोज र नष्ट गर अभियान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ । देशैभर डेंगुका विरामी बढिरहेको बेला यसको सजगता स्वरुप वाणगंगाले अभियान चलाएको हो ।
आइतबार डेंगु रोग नियन्त्रणका लागि वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले सरोकारवालालाई अभिमुखीकरण दिएको छ । कार्यक्रममा यस क्षेत्रका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्योगी व्यवासायी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई डेंगु रोगबारे अभिमुखिकरण दिइएको हो । पिपरा अस्पतालका डा. रंजिता महतोले डेंगु रोगको नियन्त्रणका उपायको बारेमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले डेंगु रोग नियन्त्रणका लागि नगरपालिका गम्भिर रुपले लागेको बताउनुभयो । डेंगु रोग नियन्त्रणका लागि विगतका बर्षहरुमा पनि नगरपालिकाले अभियान चलाउँदै आएको बताउदै यस बर्ष डेंगु रोगको प्रकोप अलि बढी देखिएकोले रोग नियन्त्रणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसालले डेंगु रोगबारे शनिबारबाट पिपरा अस्पतालमा निशुल्क स्वास्थ्य जाच गराउने व्यवस्था मिलाएको बताउनुभयो । डेंगु लागेको शंका लागे स्वास्थ्य जाचका लागि बुटवललै जानुपर्ने बाध्यता यसले अन्त्य गरेको उहाँले बताउनुभयो । कसैलाई डेंगु लागेको शंका लागे पिपरा अस्पतालमा आएर स्वास्थ्य जाँच गराउन उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाले यही भदौ २४ र २५ गते अभियानका रुपमा बजार क्षेत्रमा लामखुट्टे खोज र नष्ट गर अभियान संचालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो । लामखुट्टेको कारणले डेंगु रोग लाग्ने भएकोले यसको निवारणका लागि नगरपालिका सम्पूर्ण बजारमा लामखुट्टे नष्ट गर्ने अभियान चलाएको प्रमुख घिमिरेले बताउनुभयो ।
यसैगरी २६ गते देखि नगरका हरेक बस्ती बस्तीमा अभियान चलाइने स्वास्थ्य शाखाका उपप्रमुख कमल ज्ञवालीले बताउनुभयो । प्राय गरी यत्रतत्र राखिएका पुराना टायर, पानीको ट्याङ्कीमा लामखुट्टे हुने भएकोले यी बस्तुहरुलाई हटाउन नगरबासीलाई ज्ञवालीले आग्रह गर्नुभएको छ । यदि यसमा हराउन अटेरी गरेको पाइए अनुगमन टोलीले सामग्री नियन्त्रणमा लिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ५ : ५२ बजे