९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेशसभा मै उठ्यो डेंगु रोग नियन्त्रणको कुरा, गम्भिर बन्न सांसदको माग



बुटवल ।
प्रदेश नं ५ को प्रदेशसभामा डेंगु रोग नियन्त्रणका विषयका प्रदेश सभा सदस्यले कुरा उठाएका छन् । देशैभर डेंगुको माहमारी फैलिएपनि संघीय र प्रदेश सरकारले कुनै कार्यक्रम अगाडी नबढाएको भन्दै तत्काल अभियान सञ्चालन गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।
आइतबार बसेको प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले चितवन, काठमाण्डौ, रुपन्देही लगायतका जिल्लामा गरी हाल सम्म १३ जनाको ज्यान गईसकेको र संघीय सरकारका कृषि मन्त्री समेत गरी मुलुकका ४२ जिल्लामा चार हजार मानिसमा डेंगु रोगको संक्रमण हुँदा समेत संघीय सरकार र प्रदेश सरकारले त्यसको नियन्त्रणका लागि कुनै कदम नचाल्नु दुखद भएको बताए ।
उनले प्रदेश नं ५ मा मात्रै ११० जनामा डेंगुको संक्रमण भएको र एक जनाको मृत्यु भएको तथ्याङ्क समेत प्रस्तुत गरे । पछिल्लो ५ बर्ष यता डेंगु रोगको संक्रमण ११ प्रतिशतका दरले बृद्धि भएको भन्दै उनले डेंगु रोग नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकारले तत्काल आवश्यक कदम चाल्न र प्रत्येक जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरे ।
प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य रिना नेपाल बिश्वकर्माले पनि डेंगु रोगको संक्रमण बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्न माग गरिन् । प्रदेशसभा सदस्य तारा जिसीले लुम्बिनी प्रादेशिक अस्पतालमा एउटै बेडमा तिन जना सम्म बिरामि सुत्नु पर्ने अवस्था रहेको भन्दै त्यस बिषयमा सामाजिक विकास मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुलाई जानकारी छ की छैन भनि प्रश्न गरिन् ।
प्रदेशको एउटा प्रादेशिक अस्पताल समेत व्यवस्थित गर्न नसक्नु दुखद भएको भन्दै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना कहाँ पुग्यो भन्ने बिषयमा जानकारी माग गरिन् । उनले कर्मचारी समायोजन पछि प्यूठान जिल्ला अस्पतालमा डाक्टर र लेखापालको अभाव भएको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न माग गरिन् ।
प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले समयमै काम नसक्ने ठेकेदार कम्पनीहरुलाई कार्बाही गछौं भन्ने तर कार्बाही नगर्ने गर्दा कतिपय योजनाहरु समयमै सम्पन्न नहुँदा जनताले सास्ती व्यहोर्नु परेको भन्दै अहिले सम्म कुन कुन ठेकेदारलाई कार्बाही भयो भन्ने बिषमा सदनलाई जानकारी गराउन माग गरे ।
अर्का प्रदेशसभा सदस्य रमा घर्तीले भदौंको तेस्रो हप्ता बितिसक्दा समेत किसानले मलखाद पाउन नसकेको भन्दै मलखाद लिन कहाँ जाने ? भनि प्रश्न गरिन् । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पनि सरकारले मलखादको उचित व्यवस्था गर्न नसक्ने किसानले छिमेकी मूलुकबाट मलखाद ल्याउदा प्रहरीले अबरोध गर्ने गर्दा किसान मर्कामा परेको भन्दै किसानले मलखाद ल्याउदा अबरोध नगर्ने वातावरण बनाइदिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  ७ : १४ बजे