९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बढ्दो आत्महत्याका घटना, प्रदेश–५ मा दैनिक ४ जनाले गर्छन् आत्महत्या



बुटवल ।
प्रदेश–५ मा औसतमा दैनिक ४ जनाले आत्महत्या गर्ने गरेका छन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गत वर्ष १ हजार १ सय १८ जनाले आत्महत्या गरेका छन् । त्यसको अघिल्लो वर्ष १ हजार ९४ जनाले आत्महत्या गरेका थिए ।
प्रदेश-५मा आत्महत्याको भयाभह रुप यो तथ्यांकले प्रष्ट पार्छ । ‘एक दिनमा ४ जनाले आत्महत्या गर्नु भयाभह अवस्था हो’, प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता नवराज पोखरेलले भने,‘आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्, गत आर्थिक बर्षमा ५ सय १७ जना महिला र ६ सय १ जना पुरुषले आत्महत्या गरेका थिए । महिलाको तुलनामा ८४ बढी पुरुषले आत्महत्या गर्ने गरेका छन् ।’
शनिबार विहान मात्र बुटवल–२ का वडाध्यक्ष रमेश नेपालले आत्महत्या गर्ने प्रयास गरे । घरकै सिलिङको पंखामा झुण्डिएका उनलाई परिवारका सदस्यले देखे र अस्पताल र्पुयाए । अहिले उनको अवस्था गम्भीर छ ।
मानिसमा छिटो प्रगति गर्ने चाहान, आकांक्षा र कुण्ठाले डिप्रेसन देखिएको छ । डिप्रेसनमा पुगेकाहरु नै आत्महत्याको निर्णयमा पुग्ने गरेको मनोचिकित्सकहरु बताउँछन् । बुटवलमा क्रियाशिल मानसिक रोग विषेशज्ञ डा. विक्रम काफ्लेका अनुसार आत्महत्या कडा खालको मनोरोगका कारणले हुने समस्या हो । जसलाई बेलैमा उपचार गरे नियन्त्रण गर्न सकिन्छ ।

आत्महत्या पूर्णतया नियन्त्रण गर्न सकिने उनको भनाई छ । ‘तनाव, एक्लोपना, मानसिक तनाव आदि कारणले पनि मानिस आत्महत्या जस्तो गंभिर कदम चाल्ने गर्दछ,’ उनी भन्छन्,‘आत्महत्याबाट सतप्रतिशत बचाउन सकिन्छ । तर, त्यसको लागि सबै क्षेत्रमा सचेत हुनुपर्छ ।’

आत्महत्या गर्नेमध्ये झुन्डिने विकल्प रोज्ने धेरै छन् । प्रदेशमा गतवर्ष ७ सय ५६ जना झण्डिएका थिए भने २ सय ९८ जनाले विष खाएर आत्महत्या गरेका छन् । प्रदेशमा आफै गोली हानेर दुइ जनाले आत्महत्या गरेका छन् भने आगो लगाएर ५ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

आत्महत्या गर्नेको संख्या रुपन्देहीमा सबैभन्दा बढी २२७ र पूर्वीरुकुममा सबैभन्दा कम १० जना छन् । बढ्दो महत्वकांक्षा र बदलिँदो जीवनशैलीले पनि आत्महत्या बढ्दै गएको विज्ञहरु बताउँछन् ।

‘मानिसको जीवनशैली खर्चिलो बन्दै गएको छ। बेरोजगारीको समस्या पनि उत्तिकै छ । मानिसले मृत्यु सहजरुपमा रोज्ने गरी मानसिकता विकास भैरहेको छ’,प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाह भन्छन्,‘प्रविधिको सहजतासँगै समस्या बढेको छ ।’

मनोचिकित्सक डा.मनोज ढुंगानाले मानसिक समस्यालाई गम्भीर रुपमा लिएर सचेतना बढाउन आवश्यक रहेको बताउछन् । ‘मानसिक समस्या भए औषधी खानुपर्छ, समाजमा औषधी खानेलाई हेयभावले हेरिन्छ, यो गलत हो’, उनले भने ।

जिल्लामा कति जना ?

रुपन्देही – २२७
दाङ – २१२
कपिलवस्तु – १३०
पाल्पा – ९०
नवलपरासी – ८६
बर्दियामा – ८३
प्युठान – ६८
रोल्पा – ५७
बाँके – ५५
गुल्मी – ५५
अर्घाखाँची – ४५
पूर्वि रुकुम – १०
अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  ६ : ४८ बजे