गुल्मी ।
पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् ।
मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै छेकछन्द देखाएको छैन । बसाइँसराइले खास गरेर पहाडी कन्दराका गाउँघरलाई मानवविहीन बनाउँदै लगेको छ । गुल्मी जिल्लामा तालाबन्द घर संख्या धमाधम बढेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– १० को सिमीचौर मोहराई टोलका ८४ मध्ये २५ घरपरिवार बसाइँ सरिसकेका छन् ।
एउटै कुँवर समुदायको बसोबास भएको मोहराईका यतिका परिवार केही वर्षमै बसाइँ सरेर गएको टोलका लालबहादुर कुँवर बताउँनुहुन्छ । ती सबै परिवार सुविधाको लागि शहर पसेको उहाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘टोलमा विवाह, पूजाआजा, परम्परागत सामूहिक कार्य आदि गर्नु पर्दा समस्या हुन थालेको छ ।’
मोहराईकै बिनोद कुँवर खेतीपाती बाँदरले सखाप पारिदिनेदेखि खानेपानीसम्मको समस्याले गाउँमा जिविका कठिन बन्दै गएको बताउँनुहुन्छ । ‘एक त विकास र सुविधामा गाउँहरुलाई पछि पारियो’, उहा भन्नुहुन्छ, ‘बडा दुःखले गरेको खेतीपाती पनि बाँदरलाई ठिक्क भएपछि सक्ने जति सबै बसाइँ सरेर गए ।’
पछिल्लो समय गाउँहरुमा पनि विकासको लहर चलेको छ । सबैतिर डोजरले सडक खनीरहेको देखिन्छ । मोहराई छेउँमा त रेसुङ्गा विमानस्थल नै बन्दैछ । तर, यतिले मात्रै बसाइँसराइ नरोकिने बिनोद कुँवर बताउँनुहुन्छ । मोहराई टोलमात्र होइन, सुविधाविहीन पहाडका जताततैबाट बसाइँसराइ बढेको उहाले बताउनुभयो ।
आर्थिक रुपमा सक्षम परिवार थप सुविधाका लागि बसाइँ सरिरहेका छन् भने बिपन्नहरु रोजीरोटीकै लागि गाउँबाट पलायन भइरहेका छन् । कृषिमा लगानीअनुसारको प्रतिफल नपाउनु, गाउँमा राम्रो स्कुल–कलेज र अस्पताल नहुनु जस्ता कारणले बसाइँसराइ बढाएको छ ।
गाउँमा ताला नलागेको घरहरुमा पनि वृद्धवृद्धा मात्र छन् । उनीहरुका छोरा कमाउन विदेश र बुहारी छोराछोरी पढाउन शहर पसेका हुन्छन् । गुल्मीको धुर्कोट गाउँपालिकाबाट २०७५ वैशाखदेखि चैत मसान्तसम्म ८४ परिवार बसाइँ सरेर गएको तथ्यांक छ ।
त्यस्तै, मालिका गाउँपालिकाबाट ५८ घरपरिवार, रुरु गाउँपालिकाबाट ६४ परिवार, छत्रकोटबाट ७८ परिवार, इस्मा गाउँपालिकाबाट ५९ परिवार, गुल्मी दरबार गाउँपालिकाबाट ६५ र रेसुङ्गा नगरपालिकाबाट ५४ परिवार गुल्मी बाहिर बसाइँ सरेको तथ्यांक छ ।
स्थानीय सरकारहरुले विकासका विभिन्नखाले योजनाहरु त ल्याएका छन्, तर बसाइँसराइ नै रोक्ने कुनै दीर्घकालीन योजना र लक्ष्य भने छैन ।
२२ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया