९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युवराज ज्ञवाली भन्छन्, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पारे । उनले भने, “हाम्रो पार्टी अहिले सत्तामा छ । वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।”
ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए । तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाई छ । उनले भने, “सरकार जनतामा आधारित छ । पार्टीपनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टी्भित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकल जस्तो लाग्न सक्छ । तर, अब यसलाई लागु गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।”
अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे । उनले भने, “अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटिको अध्यक्षको रुपमा कार्यरत छन् । अब त्यहाँ के होला ? त्यहाँको कामको मुल्यांकन कसले गर्ने ? त्यसैले यस्तो अवस्थामा राम्रो परीणाम आउँदैन ।” उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे ।
उनले भने, “हामी चीन र रुसलेजस्तो चलाउन सक्दैनौं । सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ । त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ । उहाँलाई सरकार चलाउनमा पार्टी्भित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ ।”
पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाइ छ । “केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागु गर्नुपर्छ,” उनले भने ।
ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रीय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए । उनले थपे, “यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ ।”
उनले वर्तमान प्रधानमन्त्री ओली संसदबाट निर्वा्चित प्रधानमन्त्री भएकोले र उनले दुई वटा बजेट ल्याएकोले बजेट कार्यान्वयनलगायतका काम गर्नपनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गरे ।
उनले भने, “सरकारको नेतृत्व ओलीजीले गर्ने हो र प्रचण्डजीलाई पार्टी चलाउन एकल अधिकार दिनुपर्छ । प्रधानमन्त्रीमा ओलीजीलाई पार्टी्भित्रबाट भरपुर सहयोग गर्नुपर्छ ।”

प्रकाशित मिति : २१ भाद्र २०७६ शनिबार ००:००  ६ : १० बजे