९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

समाजबादमा पुग्नका लागि सहकारीमा लगानी आवश्यक : मन्त्री पौडेल



मायादेवी अनलाइन, अर्घाखाँची ।
प्रदेश ५ की भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री आरती पौडेलले समाजबादमा पुग्नका लागि सहकारीमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । संविधानमै नेपाल समाजबाद उन्मुख दिशामा जाने लेखिएको भन्दै यसमा पुग्नका लागि सहकारी क्षेत्रनै पहिलो विकल्प रहेको बताउनुभयो । सरकारको तीन खण्डे अर्थतन्त्रमा पनि सहकारी एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै सहकारीबाट थुप्रै काम गर्न सकिने बताउनुभयो ।
किसानको लागि उन्नत बीउविजन कार्यक्रमको सहयोगमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ र प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. १ मा स्थापना भएका साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुको व्यवस्थापन हस्तान्तण कार्यक्रमलाई अर्घाखाँचीको ठाडा अमराईमा सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
नेपालमा परम्परागत खेती गर्ने गरिएको बताउँदै मन्त्री पौडेलले अब यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । लामो समय देखि आधुनिक र व्यवसायिक कृषि प्रणालीका कुरा उठेपनि भाषणमा मात्र सिमित रहेको भन्दै अब संघीयतासंगै बनेका सरकारले यसलाई व्यवहारमा उतार्ने दाबी गर्नुभयो । प्रदेश सरकारले सहकारी मार्फत कृषिको क्षेत्रमा करोडौं बजेट लगाउन तयार रहेको भन्दै इच्चाशक्ति हुनेले काम थाल्न सक्ने बताउनुभयो । प्रदेश सरकारले कृषिको क्षेत्रमा अरु प्रदेशले भन्दा सबैभन्दा बढी लगानी गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विचौलियाको कारण वास्तविक किसानले उचित मूल्य नपाएको गुनासा आएका थिए । ति गुनासाहरुको सम्बोधन गर्दै उहाँले किसानले उत्पादन गरेका बस्तुहरुको मूल्य किसानले नै तोक्ने व्यवस्था मिलाउने गरी काम भैरहेको जानकारी दिनुभयो । ‘घाममा डढेर, हिलोमा सडेर किसानले उत्पादन गरेपनि आफ्नो मूल्य किसानले तोक्न सक्दैनन् जुन विडम्वना कुरा हो उहाँले भन्नुभयो, अब यसको अन्त्य हुनुपर्छ ।’
प्रदेश सभा सदस्य रामजी घिमिरेले निर्वाहमूखी कृषि निरुत्साहित गर्ने गरी काम गर्न किसानलाई आग्रह गर्नुभयो । कृषि क्षेत्रलाई व्यवसायिक नगराई कुनै उपलब्धी नदेखिने भन्दै यसमा गम्भिर भएर सोच्न आग्रह गर्नुभयो । आजभोली घरमा खेतबारी बाँझो राखेर किनेर खाने बानी लागेको भन्दै यसले मूलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेम पाठकले अब सहकारीले नै ठाउँ ठाउँमा कृषि बजार लगाउने उद्घोष गर्नुभयो । किसानका उत्पादनमा विचौलिया हावी हुँदा किसान मर्कामा पर्दै आईरहेको भन्दै अब देशका ठाउँ ठाउँमा कृषि बजार खोलेर सहकारीले नै किसानका उत्पादित वस्तुहरु किन्ने बताउनुभयो । यसका लागि विभिन्न कामहरु भैरहेको जानकारी दिनुभयो ।
साना किसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष कुमार मधु बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न बक्ताहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी भलवाडले अर्घाखाँचीको शितगंगामा आएर साना किसान कृषि सहकारी बनाएर काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमका सञ्चालन विन्द्र बहादुर गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६ शनिबार ००:००  ७ : २४ बजे