बेझाड (पाल्पा) ।
प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् ।
तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चार वटै स्थानमा सञ्चालनमा आएको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।
“यस कार्यक्रमले कृषकलाई नयाँ प्राविधिकको ज्ञान र शीपसँगै आयआर्जनमा ठूलो टेवा पुग्नेछ,”उनले भने । चार वर्षसम्म निरन्तर कृषकमाझ सञ्चालन हुने भएकाले कृषकले यस कार्यक्रमबाट प्रशस्त आर्थिक लाभ लिन सक्ने अर्यालको विश्वास छ । प्रारम्भमा रामपुरको हेक्लाङ्ग क्षेत्रमा करीब ४९४ रोपनीमा यो कार्यक्रममा शुरु गरिएको हो र यस कार्यक्रमबाट यहाँका ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रतिक्रिया