एजेन्सी ।
विश्व फुटबलको प्रशासकीय निकायले फिफाले प्रदान गर्ने वर्ष फुटबलर अवार्डका लागि अन्तिम मनोनयन सार्वजनिक भएको छ।
फिफाले सोमबार सार्वजनिक गरेको सूचि अनुसार वर्ष पुरुष फुटबलर तर्फ क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी तथा भिर्जल भान डिजेक अन्तिम मनोनयनमा परेका छन् ।
भर्जिलले हालै रोनाल्डो र मेस्सीलाई पछि पार्दै युरोपको वर्ष खेलाडीको अवार्ड जितेका थिए । युभेन्टस तथा पोर्चुगलका रोनाल्डो र बार्सिलोना तथा अर्जेन्टिनाका मेस्सी स्ट्राइकर हुन् । लिभरपुल तथा नेदरल्याण्डसका भान डिजेक भने डिफेन्डर हुन् ।
यो वर्षको फिफा वर्ष खेलाडी अवार्ड भान डिजेकले जित्ने सम्भावना बलियो छ किनकी उनले लिभरपुललाई गएको जुनमा च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रिमियर लिगमा उनको क्लब दोस्रो भएको थियो । भान डिजेक पिएफए वर्ष खेलाडीको अवार्ड पाउन पनि सफल भएका छन् ।
रोनाल्डोले गएको सिजन २२ गोल गरे र युभेन्टसलाई सिरी ए को उपाधि दिलाउन सहयोग गरे । यस्तै पोर्चुगलबाट उनले नेशन्स लिगको उपाधि पनि जितेका छन् ।
अर्जेन्टिनाका मेस्सीले सबै खेलमा गरेर ५१ गोल गरे र उनले व्यक्तिगत रुपमा च्याम्पियन्स लिग र ला लिगामा गोल्डेन बुट जिते । यस्तै बार्सिलोनाले ला लिगाको उपाधि जितेको थियो ।
यस्तै वर्ष महिला खेलाडीका लागि लियोन तथा इंग्ल्याण्डकी लुसी ब्रोन्ज, ओरल्याण्डो प्राइड तथा अमेरिकी एलेक्स मोर्गन र इजिन एफसी र अमेरिकाकी मेगन रापिनोइ अन्तिम मनोनयनमा परेका छन् । ब्रोन्जले हालै युरोपको वर्ष महिला खेलाडी अवार्ड जितेकी थिइन् ।
यसैगरी पुरुष फुटबल तर्फ वर्ष प्रशिक्षकका लागि म्यानचेस्टर सिटीका पेप गार्डिवला, लिभरपुलका जर्गेन क्लोप्प र टोटनह्यामका माउरिसिओ पोकेटिनो मनोनयनमा परेका छन् ।
यस्तै महिला टिमको प्रशिक्षकमा अमेरिकाकी जिल एलिस, इंग्ल्याण्डका फिल नेभिल र नेदरल्याण्डसकी ससिना विगम्यान मनोनयनमा छन् ।
महिला गोलरक्षकका लागि पेरिस सेन्ट–जर्मेन र चिलेकी क्रिष्टिएनी इन्डलर, वुल्फ्सबर्ग तथा स्वीडेनकी हेड्विग लिन्डाह्ल तथा एथ्लेटिको मड्रिड तथा नेदरल्याण्डसकी सारी भान वीनेन्डाल अन्तिम मनोनयनमा परेका छन् ।
यसैगरी पुरुष गोलरक्षक तर्फ लिभरपुल तथा ब्राजिलका एलिसन, म्यानचेस्टर तथा ब्राजिलका एडर्सन र बार्सिलोना तथा जर्मनीका मार्क–एण्ड्रे टेर स्टिजेन मनोनयनमा छन् ।
प्रतिक्रिया