८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ब्यवस्थापन र सेवामा सुध्रिदै छ बिद्युत प्राधिकरण तौलिहवा



मायादेवी अनलाइन, कपिलवस्तु ।

एक बर्ष अघि सम्म अधिक बिद्युत चुहावट हुने शाखामा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र सूचीकृत थियो । कालोसूची, बक्यौता, बिद्युत अनियमितता लगायतका कारणले तौलिहवा बितरण केन्द्र आफै समस्यामा परेको थियो ।

यहाँ सम्म कि एक बर्ष अघि सम्म करिब ४० प्रतिशतको हाराहारीमा बिद्युत चुहावट हुने गरेको थियो । तर अहिले भने तौलिहवा बितरण केन्द्रको अवस्थामा सुधार आएको छ । गत असारसम्म घटेर २८ दशमलव ७६ प्रतिशत बिद्युत चुहावट पुगेको छ । त्यति मात्र होईन खपत भए पनि हराएको ९ लाख २० हजार ९१४ युनिट फेला परेका छन् ।

जसले गर्दा प्राधिकरणलाई ८२ लाख ६७ हजार १६ रुपैया संकलन भई फाईदा पुगेको छ । यस्तै बाणगंगा नगरपालिकाको वडा नम्बर २ र ७ लाई चुहावटमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख जय कुमार यादवले गएको एक बर्ष भित्र तौलिहवा बितरण केन्द्रले बिगतको अवस्थामा सुधार गरेको बताए ।

अंकुश लगाई बिद्युत चोरी गर्ने, मिटर बिगारेर चोरी गर्ने लगायतले अधिक चुहावट हुने गरेको छ । प्राधिकरणले यस बितरण केन्द्रको क्षेत्रमा पर्ने मायादेबी, शुद्धोदन गाउँपालिका र बाणगंगा र कपिलवस्तु नगरपालिकासंग समन्वय गरेको छ ।

ती पालिकाहरुमा अन्तर्रक्रिया गरी चुहावट नियन्त्रण समिति समेत निर्माण गरिए पछि धेरै सुधार आएको प्रमुख यादवले बताए । तौलिहवा बितरण केन्द्रका लेखा अधिकृत प्रकाश रोकाका अनुसार एक बर्षमा चुहावट नियन्त्रण अभियानमा ३ सय ७४ जनालाई कारबाही गरिएको थियो ।

जसबाट ४८ लाख ९४ हजार एक सय रुपैया असुली भएको छ । समयमा महशुल नतिर्ने ९ सय १ जनाको लाईन काटेको र जसबाट २ करोड ४१ लाख ५८ हजार ९२६ रुपँैया असुली भएको छ । महशुल संकलन ९७ दशमलव ७४ रहेको छ ।

एक बष अघिसम्म ५८ दशमलव ६ दिनमा महशुल तिर्ने ग्राहकहले अहिले ३४ दशमलव ३ दिनमा महशुल तिर्ने गरेको लेखापाल रोकाले बताए । गत बर्ष १३ सय गरीब बिपन्नलाई निःशुल्क मिटर बितरण गरिएको छ । प्राधिकरणमा ४७ हजार ७४१ ग्राहक छन् । जसमध्ये १ दशमव ४ प्रतिशत मात्र औद्योगिक ग्राहक छन ।

बर्षौ देखि महशुल नबुझाएका २ सय ५७ जनालाई कालोपाटीमा राखिएको छ । पटक पटक ताकेता गर्दा पनि नबुझाए पछि ती ग्राहकको लाईन काटेर कालोपाटीमा राखिएको हो । गत बर्ष असारसम्म कालोपाटीको कुल ३० लाख ३५ हजार ३७९ रुपैया भएको थियो । जसमध्ये ४३ जनाबाट २८ लाख १७ हजार ३४० रुपैया असुली गरिएको प्राधिकरणका प्रमुख यादवले बताए ।

प्राधिकरण तौलिहवा बितरण केन्द्रको बिद्युत बक्यौता १४ करोड बढी रहेको छ । जसमध्ये ढाई करोड रुपैया सडक बत्तीको छ । बाँकी ग्राहस्थको रहेको प्रमुख यादवले बताए । बक्यौता उठाउन चुनौती र समस्या रहेको उनले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७६ सोमबार ००:००  ४ : ०२ बजे