काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुशी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताएकी छन् ।
सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्बर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताएकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज) को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म्निरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
१६ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया