काठमाडौं ।
स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली यही साता स्वदेश फर्कने भएका छन् । सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य जाँच बुधबार पूरा हुनेछ ।
बिहीबारसम्ममा रिपोर्ट आए प्रधानमन्त्री शुक्रबार स्वदेश फिर्ता हुनेछन् । तर, रिपोर्ट आउन केही दिन ढिला भए यही सप्ताहन्तमा स्वदेश फर्कने सचिवालय स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै बुधबारसम्म जाँच सकिने बताएका हुन् ।
“सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार भोलि सोमबार छैटौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भनेका छन् ।
त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुरै पुगेका ऊर्जामन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए । “आज सिङ्गापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो र सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधवारको जाँचपश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो । थप स्वास्थ्य लाभको कामना,” उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
१५ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया