८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाल्पाको रामपुरमा पनि खुल्यो ‘कपडा बैंक’



बेझाड ।
गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ ।
रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो ।
कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तैः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ ।
रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट सङ्कलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए ।
उनका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ । कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ ।
गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बंैक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउछन् ।
सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट रु ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए।
आपत्विपत परेका, गरीब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य सङ्घले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।
रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन् ।
घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ । रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । रासस

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ७ : ०५ बजे