काठमाडौं ।
चिनियाँ ह्याकरहरुले निशाना बनाउँदा नेपाल अधिकांश बैंकको एटिएम प्रणालीमा गम्भीर समस्या देखिएको छ । चिनियाँ ह्याकहरुले एनआईसी एसिया र प्रभु बैंकलाई निशाना बनाएर करिब ५ करोड रुपैयाँ निकालेको तथ्य शनिबार सार्वजनिक भएको छ। ह्याकरहरुले आक्रमण गरेपछि अधिकांश बैंकको एटीएम सेवा अचानक बन्द भएको हो । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । यसबाहेक अन्य बैंकमा पनि समस्या आएको छ। ह्याकरले आक्रमण गरेपछि आएको समस्याको समाधान प्रयास भइरहेको राष्ट्र बैँकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको अनुमान राष्ट्र बैंकले गरेको छ । यसैमा केन्द्रित भएर अहिले राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको पुष्टि गरेका छन्। गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । ‘नेपाली बैंकबाट अर्बौं रुपैयाँ चोर्ने योजनासहित ह्यारहरुले नेपालको बैंकिङ प्रणालीमा आक्रमण गरेका रहेछन्’, सुवेदीले भने, ‘तर समयमै सूचना पाएकाले ठूलो क्षति रोक्न सफल भयौँ। बैंकिङ प्रणाली डाउन गरेर भएपनि ठूलो साइबर अपराध रोकेका छौँ। छानबिन भइरहेको छ।’ चाड पर्वको दिनमा एटीएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । अहिले एनआईसी एसिया र प्रभु बैंकका एटिएम चलेका छैनन्। अन्य बैंकका एटिएम सञ्चालनमा आएका छन्। तर अरु बैंकका एटिएमबाट पैसा निकाल्न सक्ने अवस्था छैन। ह्याकरहरुले यसअघि पनि नेपाली बैंकिङ प्रणालीमा आक्रमण गर्दै आएका थिए। एनआईसी एसिया बैंकमा ह्याकरहरुले निशाना बनाएका थिए। चिनियाँ ह्याकर सक्रिय भएपछि नेपाली बैंकरहरु अहिले बैठकमा छन्। प्रहरीका अनुसार नेपाली सेवाग्राहीको एटिएमको पिन नम्बर ह्याक गरेर चिनियाँ ह्याकरले ५ करोड रुपैयाँ भन्दा धेरै निकाल्न भ्याएका थिए । चिनियाँ ह्याकरको निशानामा परेपछि नेपाली बैंकहरुको बैठक सर्भिस प्रोभाइडर इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स ९नेप्स०मा बसेको छ। यो बैठकमा नेप्सका प्रतिनिधि र यसका सदस्य १७ वटा वाणिज्य बैंकका प्रतिनिधि सहभागी छन्।
१५ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया