मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुर चानरम्बरमा अवस्थित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज सञ्चालन गर्ने आधिकारीक संस्था नव छहारी सामाजिक विकास संस्थाले नयाँ नेतृत्व पाएको छ ।
आइतबार गजेहडामा सम्पन्न अधिवेशनले नन्दकिशोर शुक्लाको अध्यक्षतामा ११ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा माधव भाट क्षेत्री, सचिवमा थानेश्वर अधिकारी, सह–सचिवमा इन्दिरा तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मण शर्मा सर्वसम्मतले चयन हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा टेकेन्द्र कुमार क्षेत्री, कृष्ण कार्की, चन्द्रकान्त न्यौपाने, दिपक अनुरागी, अञ्जु अधिकारी र अस्मिता पोख्रेल चयन हुनुभएको छ ।
यस्तै संस्थाको वरिष्ठ सल्लाहकार र प्रमुख संरक्षकमा कृष्ण बहादुर कुँवर चयन हुनुभएको छ । म्यान पावर व्यवसायी कुँवर निवर्तमान अध्यक्ष हुनुहन्छ । यस्तै सल्लाहकारमा पूर्व अध्यक्ष शसिन्द्र सापकोटा चयन हुनुभएको छ ।
लामो समय देखि संस्थाको अधिवेशन हुन सकेको थिएन । अधिवेशन गर्नुपूर्व पुराना सदस्यको नविकरण गर्दै केही नयाँ सदस्य थप गरेर अधिवेशन गरिएको संस्थाले जनाएको छ । संस्थाका साधारण सदस्यहरुलाई आफ्नो नाम नविकरण गर्नका लागि राष्ट्रिय दैनिक पत्रिकामा १५ दिने सुचना जारी गरिएको थियो । सोही सुचना अन्तर्रगत नविकरण गरेका सदस्यहरुबाट अधिवेशन गरिएको बताइएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष कृष्ण कुँवरले नयाँ निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिनुभएको छ । आफुले लामो समय देखि संस्थाको नेतृत्व गर्दै आएको बताउँदै उहाँले जोश, जागरले भरिएको नयाँ समितिले संस्थालाई थप उचाईमा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष शुक्लाले आफुले चुनौतीको बीचमा संस्थाको नेतृत्व गर्ने अवसर पाएकोले सबैको साथ र सहयोगले अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । पछिल्लो समय देशकै नमुना सञ्चार गृहको रुपमा स्थापित हुन थालेको रेडियो मायादेवीलाई थप जनप्रिय बनाउने कोशिस आफ्नो हुने बताउनुभयो ।
रेडियो मायादेवीको अध्यक्षमा क्षेत्री
यसैबीच अधिवेशन पछि बसेको नयाँ सञ्चालक समितिको बैठकले रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको अध्यक्षमा टेकेन्द्र कुमार क्षेत्रीलाई चयन गरेको छ । नव छहारी सामाजिक विकास संस्थाका नवनिर्वाचन कार्यसमिति सदस्य कुँवरको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शंकर पौडेल, सदस्य सचिवमा चन्द्रकान्त न्यौपाने, सह सचिवमा जगन्नाथ पौडेल, कोषाध्यक्षमा खिमानन्द पाण्डे, सदस्यहरुमा पूर्व बहादुर कुँवर, टेक बहादुर थापा, रविन्द्र अर्याल र अस्मिता पोख्रेल रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष क्षेत्रीले रेडियोलाई राष्ट्रकै उत्कृष्ट सञ्चार गृहका रुपमा लैजाने आफ्नो लक्ष्य रहेको बताउनुभयो । समाज रुपान्तरणमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै यस कार्यमा अब रेडियो मायादेवीले अगुवाई गर्ने बताउनुभयो । संस्था र रेडियोलाई थप व्यवस्थित बनाउन आगामी दिनमा महत्वपूर्ण भूमिका आफुले निर्वाह गर्ने बताउनुभयो ।
१५ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया