७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

तरुण दल ठाकुरापुरले ठड्याइदियो विपन्नको लागि घर, कम्यूनिष्टलाई चुनौति



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाणगंगा वडा नम्बर ४ ठाकुरापुरले अनुकरणीय काम गरेको छ । स्थानीय अति विपन्न सिउटीनिहा थारुको लागि तरुण दल ठाकुरापुरले करिब ३ लाखमा २ कोठासहित जस्ताले छाएको घर निर्माण गरिदिएको हो ।
सो नवनिर्मित भवनलाई शनिबार एक कार्यक्रमकाबीच सिउटीनिया थारुलाई हस्तान्तरण गरिएको छ । भवनसंगै सो सिउटनीया परिवारलाई एक थान सिरक, डसना, एक बोरा चामल लगायत घरमा आवश्यक पर्ने आधारभूत सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरीले हस्तान्तरण गर्नुभएको थियो ।
लामो समयदेखि मजदुरी गरी अति विपन्न जीवन विताइरहेकी सिउटनीयाको अवस्था दयनीय देखेपछि आफुहरुले समाजमा केही गर्नुपर्छ भन्ने हेतुले घर निर्माण गरि हस्तान्तरण गरेको तरुण दल वडा नम्बर ४ का अध्यक्ष अमर थापाले बताउनु भयो । समाजमा भनेर भन्दा पनि गरेर देखाउनु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै घर निर्माण समितिका संयोजक कृष्ण पराजुलीले सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।
गरिव तथा विपन्नलाई माथि उठाउनु पर्ने दायित्वबाट राजनैतिक दल र सरकार पन्छिएको भन्दै पराजुलीले यो देशैभरीको लागि गतिलो सन्देश हुन सक्ने बताउनु भयो । घर पाएर सिउटनीया थारुले मायादेवी अनलाइनसंग खुसी ब्यक्त गर्नुभएको छ । अहिले आफ्नो घरमा भगवान आएको बताउँदै उहाँले सहयोग गर्ने सबैलाई धेरै धन्यबाद दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ठकुरीले कपिलवस्तुको तरुण दलबाट देशभरीका नेता तथा कार्यकर्ताले पाठ सिक्नु पर्ने जरुरी रहेको बताउनु भएको छ । तरुण दल कपिलवस्तु र यसमा आवद्ध तरुणहरुले जिल्लाका बिभिन्न स्थानमा गरिब र विपन्नको लागि धेरै महत्वपूर्ण काम गरेकाले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनु भयो । वडा नम्बर ४ मा एक महिना अघि संगठन निर्माण गरिएको जानकारी दिँदै यो छोटो समयमा यति ठुलो कार्य गरेकोमा सबैलाई धन्यबाद दिँदै उहाँले भन्नुभयो– ‘ठाकुरापुरको तरुणको काम देशभरीको लागि सन्देश हो ।’ यसबाट गरिब र सुकुम्बासीहरुमाथि राजनीति गर्ने भ्रष्ट कम्यूनिष्ट नेता र उनीहरुले धेरै सिक्नु पर्दछ ।
विशिष्ट अतिथि कांग्रेस नेता रवि काफ्लेले विपीको राजनैतिक सिद्धान्तलाई ठाकुरापुरका तरुणहरुले पुष्टि गरेर राष्ट्रमा सन्देश छरेको बताउनु भयो । विपीको प्रजातान्त्रिक समाजबादले समाजमा कोही पनि कुनै पनि प्रकारको विभेदमा हुनु हुँदैन भन्ने सन्देश दिएको स्मरण गर्दै समाजका विपन्नलाई माथि नउठ्याएसम्म मुलुकको विकास हुन नसक्ने बताउनु भयो । समाजमा न्याय सिर्जना गर्ने सवालमा तरुण दल कपिलवस्तु सफल सिद्ध भएको बताउनु भयो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेक बहादुर शाहीले मुलकका सर्वहारा नेता र सरकारका मन्त्री सुखसयल र मोजमस्तीमा रमाइरहेका बेला तरुण दलको एउटा सानो एकाई ठाकुरपुरले उल्लेखनीय काम गरेको बताउनु भयो । अब बोल्ने मात्र नभई गर्ने बेला आएकोले कार्यकर्ताले आ–आफ्नो स्थानबाट काम गरेमा पार्टी स्वतहः ठिक ठाउँमा आउने बताउनु भयो ।
नेपाल महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराई, क्षेत्रीय कार्यसमिति सदस्य कृष्ण मुरारी पराजुलीले पनि कार्यकर्ता ठिक भएर नेतृत्वलाई सुधार्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । सारा शास्त्रको सारांस विपन्नहरुको हित भएकाले त्यसमा तरुण दल सफल भएको बताउनुभयो । गलत ब्यक्ति नेतृत्वमा पुग्दा देश लथालिंगको अवस्थामा पुगेका भन्दै उहाँले कम्युनिष्टलाई ऐजेरुको संज्ञा दिनुभयो ।
बाणगंगा नगरका कार्यबहाक सभापति विष्णु थापाले कपिलवस्तुका तरुणको कामले सर्वहाराको नाममा राजनीति गर्ने कम्युनिष्टलाई चुनौति दिएको बताउँदै भन्नुभयो–“मुलुकमा कैयौँ दिन दुखिहरु छन् तर कम्युनिष्ट कहाँ छ ?”
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले तरुण दललको अभियानले सिंगो नगरमा नयाँ सन्देश दिएको बताउनु भयो । तरुण दल विपन्नहरुको दल भएको उसका गतिविधिले पुष्टि गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कांग्रेसका युवा नेता चन्द्रकान्त पोख्रेलले गरिब तथा दीन दुखिहरुको दुखमा महलम लगाउने आफूहरुको अभियान भएकाले यसमा साथ दिन सबैलर्य आग्रह गर्नुभएको छ । पोख्रेलका संचालन, तरुण दलका क्षेत्रीय सभापति तिलक थापाको स्वागतमा सम्पन्न आवास,लत्ता कपडा तथा खाद्यान्न वितरण कार्यक्रममा नेताहरु विष्णु न्यौपाने, दिलीप कार्की लगायतले बोल्नु भएको थियो ।
उहाँहरुले कांग्रेस विग्रनुमा दोष नेतृत्वको रहेको भन्दै तीव्र असन्तुष्टि जनाउनु भयो । कार्यक्रममै समाजसेवी दिलीप कार्काीले सो भवनको थप स्तरोन्नतिका लागि १० हजार दिने घोषणा गर्नुभयो । तरुण ठाकुरापुरको यो सन्देशले कम्युनिष्टहरुलाई ठाडो चुनौति दिएको बताएका थिए ।
यसअघि पनि तरुण दलले जिल्लामा परेका प्राकृतिक विपदका पीडितहरु, विपन्न तथा जेहेन्दार विद्यार्थी लगायतलाई ठुलो सहयोग गरेको छ । घर निर्माणको काम अझै पनि बाँकी रहेकाले पत्रकार सम्मेलन नै गरेर यसको आयब्यय सार्वजनिक गरिने नेता चन्द्रकान्त पोख्रेलले बताउनु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  ११ : २५ बजे