मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तीज विशेष कार्यक्रमको चहलपहल निकै बढेको छ । कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा दर्जनौं तीज विशेष कार्यक्रम आयोजना भैरहेका छन् । ठाउँ ठाउँमा तीज गीतमा नाचगान गर्ने र दर खानेक्रमले तीव्रता पाएका हुन् ।
यसैबीच वाणगंगाको सिद्धिपुरमा अवस्थित होराइजन माविले तीजको अवसरमा तीज गीत प्रतियोगीता आयोजना गरेको छ । अन्तर सदनात्मक रुपमा आयोजित प्रतियोगीतामा जुनियर तर्फ वाइट हाउस प्रथम, ब्लु हाउस द्धितिय, ग्रिन हाउस तृतीय स्थान आउन सफल भएका छन् ।
यस्तै सिनियर तर्फ हाइट हाउस प्रथम, ग्रीन हाउस द्धितिय, ब्लु हाउस र रेड हाउसले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी प्लस टु तर्फ कक्षा ११ को ए समूह प्रथम, कक्षा १२ को बि समूह द्धितिय र कक्षा १२ को ए समूह तृतीय भएको विद्यालयले जनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप (सार्क) को कुमिटे खेलमा गोल्ड मेडल जित्न सफल कक्षा १२ मा अध्ययनरत यादव नेपालीलाई सम्मान गरिएको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक छवि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पौडेल, विद्यालयका सल्लाहकार, शेयर सदस्य, शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयका प्राचार्य बासुदेव घिमिरेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पदममणी ज्ञवालीले गर्नुभएको थियो ।
यता तीजको अवसर पारेर वाणगंगा नगरपालिकाका कर्मचारीले पनि शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् । नगरपालिकाको नवनिर्मित भवन परिसरमा भएको कार्यक्रममा कर्मचारीहरुले नाचगान गर्दै शुभकामना आदानप्रदान गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।
यता आज नै वाणगंगा नगरपालिकाले वडा नं. ५ ले झण्डामा बृहत तीज गीत प्रतियोगीता राखेको छ । वडा स्तरीय तीज गीत प्रतियोगीतामा विभिन्न प्रतियोगीले आ आफ्नो प्रस्तुती देखाएको वडा अध्यक्ष भिष्मराज भुसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया