७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मधुवनमा विशाल ‘बिपश्यना केन्द्र’ र ‘बोटानिकल गार्डेन‘ बन्दै, यस्तो छ मास्टर प्लान 



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा–८ मधुवनमा दुईवटा गौरवका आयोजना बन्ने भएका छन् । जिल्लाकै धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको मधुवनधाममा विशाल बिपश्यना केन्द्र र नेपाली सेनाको सहयोगमा बोटानिकल गार्डेन बनाउने गरी छलफल अघि बढेको हो । बुद्धले ज्ञान आर्जन गरेको मधुवनधाम बिपश्यना केन्द्रको लागि मुलुकमै उपयुक्त स्थान भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् । मंगलबार भएको छलफलमा रुपन्देही तथा कपिलवस्तुका प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, लुम्बिनी बिपश्यना केन्द्रका प्रतिनिधि, सामुदायिक बनका प्रतिनिध तथा संचारकर्मीको उपस्थिति रहेको थियो । सहभागिले पाँच सात हजारले एकैपटक ध्यान गर्न मिल्ने गरी संसारभरका मानिसलाई आकर्षण गर्ने वृहत योजनासहित बिपश्यना केन्द्रको मास्टर प्लान बनाएमा आर्थिक रुपमा पनि धेरै लाभ लिन सकिने बताएका थिए ।

छलफलमा बोल्दै प्रदेश नम्बर ५ का सांसद विष्णु पन्थीले मास्टर प्लान बन्दै गरेको बिपश्यना केन्द्रले नगरको मात्र नभएर सिंगो प्रदेशको गरिमा बढाउने बताउनु भयो । यसको संरचना निर्माणको लागि कम्तिमा पनि ५ सात विगाह जग्गा र ३० करोड बढी बजेट आवश्यक हुने उहाँको भनाई छ । दीर्घकालिन योजनासहित बिपश्यना केन्द्र र बोटानिकल गार्डेन बन्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राएर थुप्रै लाभ लिन सकिने पन्थीको तर्क छ । सांसद पन्थीले यसको डिपिआर बनि अघि बढेमा आफूले केन्द्र तथा प्रदेशमा पहल गरेर बजेटमा कुनै कमी हुन नदिने बताउनु भयो । उहाँले यस धामलाई ध्यान केन्द्रको रुपमा विकास गर्न सकिनेमा पनि जोड दिनुभयो ।
रुपन्देहीका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले यस धामलाई नेपालकै सबैभन्दा ठुलो ध्यान तथा ज्ञान केन्द्र बनाउन सकिने विचार ब्यक्त गर्नुभयो । मधुवन सामुदायिक बन र बाणगंगा नगरपालिकाले यसलाई नगरकै गौरवको योजनाको रुपमा लिनुपर्ने उहाँको भनाई छ । त्यो संगै आकर्षक बोटानिकल गार्डेन बनाउँदा यहाँ पर्यटकहरु भुल्न सक्ने उहाँको विश्वास छ ।

रुपन्देहीका अर्का प्रदेश सांसद कृष्ण न्यौपानेले शाक्य गणराज्यको राजधानी पनि यस क्षेत्र भएकाले यहाँ बन्ने बिपश्यना केन्द्र र बोटानिकल गार्डेनले अन्तर्राष्ट्रिय जगतमा पनि धेरै महत्व हुने बताउनु भयो । भैरहवाको बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसको लागि महत्व धेरै भूमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो– ‘भगवान बुद्ध, शुद्धोधन, भिक्षु लगायतका ब्यक्तिहरुकोे विशाल मूर्ति बनाएरै प्रदेशकै उत्कृष्ट ज्ञान केन्द्र बनाउन सकिने उहाँको भनाई छ ।’

बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले यो योजना आफ्नो नगरको लागि गौरवपूर्ण भएको बताउँदै नगरको हैसियतअनुसार पुरै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । लुम्बिनी बिपश्यना केन्द्रका सचिव नारायण प्रसाद अर्यालले विपसेनामा लागेमा देशकै कल्याण हुने भएकाले देशभर यस्ता केन्द्रको विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । मधुवनमा लुम्बिनीको भन्दा पनि विशाल विपसना केन्द्र बनाउन जग्गा पनि प्रशस्तै भएकाले आफूले पुरै सहयोग गर्ने उहाँको भनाई छ ।

नेपाली सेनाका महासेनानी सन्तोष पाण्डेले मधुवन क्षेत्र विशाल बोटानिकल गार्डेन बनाउन उपयुक्त स्थान रहेकाले आफूहरुले कुनै कसर बाँकी नराखी काम अगाडी बढाउने बताउनु भयो । यस बिषयमा मोटामोटी छलफल पनि भइसकेको भन्दै आफूहरुले समयमै सुरु गरेर समयमै निर्माण सक्ने महासेनानी पाण्डेले उद्घघोष गर्नुभयो ।

छलफलमा बाणगंगा नगर शिक्षा शाखाका प्रमुख बाबुराम भट्टराई, बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसाल, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रध्यापक चर्तुभुज पाण्डे, मधुवन सामुदायिक बनका अध्यक्ष गोपाल खरेल, लुम्बिनीका बिपश्यना प्राचार्य भोजराज आचार्य, समाजसेवी पोमनारायण पौडेल, उद्योग बाणिज्य संघका उपाध्यक्ष टोपनारायण भण्डारी, शान्तिकुञ्ज मधुवन धामका प्रतिनिधि, सञ्चारकर्मी हरि अधिकारी, चन्द्रकान्त न्यौपाने लगायतले प्रदेशकै गौरवका योजनाको रुपमा यी २ योजनालाई लिएर तुरुन्त काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो । समाजसेवी कृष्ण पौडेलले संचालन गर्नुभएको कार्यक्रममा स्थानीय बासिको पनि उल्लेख्य सहभागिता रहेको थियो । सो योजनाको अगुवाई प्रदेश सांसद पन्थीले गर्नुभएको छ । यस विषयमा अब तुरुन्तै डिपीआर तयार गर्ने र अर्को चरणमा थप छलफल गरी काम सुरु गर्नेमा सबै एक मत देखिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६ शुक्रबार ००:००  २ : २३ बजे