८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ठगी मुद्दामा फरारसहित २ जना पर्साबाट पक्राउ



पर्सा ।
ठगी मुद्दामा कसुरदार भई फरार रहेकी सुनसरीकी मालती राई वीरगन्जमा पक्राउ परेकी छन्। पर्सा जिल्ला अदालतले ठगी मुद्दामा एक वर्ष कैद र ३ लाख ७३ हजार ४६२ रुपैयाँ जरिवाना तोकेकी कसुरदार राई पक्राउ परेकी हुन्। उनलाई पर्सा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। अदालतले कसुरदार ठहर गरी फरार रहेकी राई सुनसरी हरिनगरा ६ घर भई वीरगन्ज बसपार्क नजिकैको गाउँघरमा लिुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्सा जिल्ला अदालतले ०७५ असार १४ गते कसुरदार ठहर गरिसकेकी २९ वर्षीय राईलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क नजिकबाट पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए।

उनलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा हाजिर गराउने तयारी भइरकेको उनको भनाइ छ। त्यसैगरी, पर्सा प्रहरीले ३९ हजार ९५० रुपैयाँ मूल्य बराबरको धनमाल चोरी काठमाण्डौमा बस्दै आएका पर्साका २५ बर्षीय बिशाल सिंह बस्नेतलाई पनि पक्राउ गरेको छ। अभियुक्त बस्नेतलाई भने काठमाण्डौमा लुकिछिपी बस्दै आएको अवस्थामा महानगरीय प्रहरी प्रभाग बलम्बुबाटले पक्राउ गरी पर्सा प्रहरीमा दाखिला गराएको प्रहरी नायव उपरिक्षक शर्माले बताए। अभियुक्त बस्नेतलाई पनि आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको उनले बताए।

प्रकाशित मिति : १३ भाद्र २०७६ शुक्रबार ००:००  १२ : ५८ बजे