८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ क्याम्पस क्यूएए प्रमाणिकरणको नजिक, तेश्रो चरणको रिभ्यूमा विश्वविद्यालय टोली



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगास्थित सिद्धार्थ क्याम्पस बुङची क्यूएए प्रमाणिकरणको नजिक आएको छ । क्यूएए प्रमाणिकरणका लागि आवश्यक पूर्बाधारा निर्माणसंगै विश्व विद्यालयले तोकेका मापदण्ड पुरा गर्ने क्रममा अहिले तेश्रो चरणमा क्याम्पसको रिभ्यू भइरहेको छ । यसै सन्दर्भमा विश्व विद्यालय अनुदान आयोगभित्रको क्यूएए विभागको समकक्षी अनुगमन टोली सिद्धार्थ क्याम्पसमा बुधबारदेखि सक्रिय छ ।

सो टिमको संयोजकमा प्रोफेसर डाक्टर जयराज अवस्थी र सदस्य ममता प्रजापति रहनु भएको छ । यसैक्रममा टोलीले बुधबार र विहीबार यस क्षेत्रका सरोकारवालाहरुबीच छलफल गरेको छ । क्याम्पसको सभाहलमा सरोककारवालाहरुबीच भएको छलफलमा प्रमुख अतिथि समेत रहनुभएका टोली संयोजक अवस्थीले क्यूएए प्रमाण पत्र अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त शैक्षिक प्रमाण पत्र भएकाले यो प्राप्त गर्न सजिलो नभएको बताउनु भयो ।

यसको लागि क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, विज्ञान प्रविधिको उच्चतम प्रयोग, उत्पादित जनशक्तिको अवस्था, प्राध्यापकहरुको योग्यता, सामाजिक तथा राजनैतिक सहभागिता र सहयोग सबै पक्षहरुको गहिरो अध्ययन हुने बताउनुभयो । क्याम्पसका यिनै गतिविधिहरुको सुक्ष्म अध्ययन गरी टोलीले शुक्रबार सुझाव सल्लाहसहितको आफ्नो प्रतिवेदन पेश गर्नेछ । त्यसको सुझाव सल्लाहपछि क्याम्पसद्धारा तयार पारिएको प्रतिवेदन विश्व विद्यालय अनुदान आयोगको टोलीले बुझेपछि फेरि अर्को चरणमा क्याम्पसको रिभ्यू हुने अवस्थीले जानकारी दिनुभयो । चौथो चरणको रिभ्यू विदेशी प्रतिनिधिसहित हुनेछ । त्यसपछि मात्र ५ बर्षको लागि क्याम्पसले क्यूएए प्रमाण पत्र पाउने या नपाउने निश्चित हुने छ ।
यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ क्याम्पस क्यूएए प्रमाण–पत्रको लागि योग्य भएको बताएका छन् । प्रदेश सांसद विष्णु पन्थीले क्याम्पस सबै हिसाबले चुस्त दुरुस्त रहेको बताउँदै क्यूएए दिँदा फरक नपर्ने बताउनु भयो । अबको विश्व विद्यालय शिक्षामा परिवर्तन आवश्यक भएको हुँदा प्राविधिक शिक्षाको अध्यापन हुने गरी क्याम्पसलाई स्तरोन्नति गर्नुपर्ने धारणा राख्नु भएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले गुल्मीको रेसुङ्गा क्याम्पसले क्यूएए पाएको भन्दै सो क्याम्पसभन्दा कुनै पनि हिसाबले सिद्धार्थ क्याम्पस कम नभएको बताउनु भयो । बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले क्यूएएको लागि नगरको पुरै सहयोग हुने बताउनु भयो । बजेट लगायतका बिषयमा चिन्ता नलिन पनि उहाँको आग्रह छ ।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले पनि सिद्धार्थ क्याम्पस जिल्लाकै धरोहर भएकाले क्यूएए प्रमाणिकरणको लागि योग्य भएको बताउनु भयो । क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेलले क्याम्पसले क्यूएए प्रमाण–पत्र नपाउने आधार केही नभएको बताउनु भयो । सबै हिसाबले चुस्त दुरुस्त हुँदा हुँदै पनि विश्व विद्यालयले ढिलाई गरेकोमा प्रतिप्रश्न गर्दै भन्नु भयो ? हामी कुन आधारमा कमि छौँ ? उहाँले विश्वविद्यालयको शिक्षा अब देशप्रेमी नागरिक उत्पादन गर्ने खालको हुनुपर्ने बताउनु भयो । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले यो चुनौतीपूर्ण भए पनि सिद्धार्थ योग्य भएको बताउनु भयो ।
क्याम्पसका प्रध्यापक गोविन्द खनालले संचालन गर्नुएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख खेमराज शर्माले क्यापसको बारेमा बताउनु भएको थियो । सोही कार्यक्रममा प्राध्यापक खनालले बिद्यालयले हालसम्म गरेका गतिविधको बारेमा प्रोजेक्टरमार्फत विश्व विद्यालय अनुदान आयोगको क्यूएए टोलीलाई जानकारी गराउनु भएको थियो । यस्तै सो टोलीले क्याम्पस संचालक समिति, स्ववियू सभापति तथा पूर्व विद्यार्थी र अन्य सरोकारवाला निकायसंग छलफल गरेको छ । सो छलफलपछि टोलीले सुझाव सहितको प्रतिवेदन पेश गर्ने छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६ बिहिबार ००:००  १० : २२ बजे