काठमाडौं ।
मकवानपुर र कास्कीमा भएका फरक–फरक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हेटौँडा–११ मा अटोको ठक्करले गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो ।
हिजो साँझ मकवानपुरगढी–२ मा चट्याङका कारण एक जनाको मृत्यु भएको छ। घरनजिक बसिरहेको अवस्थामा साँझ ३० वर्षीय सुन्तली विकलाई चट्याङ लागेको र उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेटौँडाका सवारी दुर्घटनामा संलग्न प्रदेश २–०३००१प ९३९० नम्बरको मोटरसाइकलका चालक रोशन दुलाल तथा ना२ह १८९० नम्बरको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
त्यसैगरी पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नम्बरको मोटरसाइकल र ग११प २३५८ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा लेखनाथका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।
गए राति नै पृथ्वीराजमार्ग्स्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ ।
ग३च १४२२ नम्बरको मिनीभ्यान र बा९४प १७०५ नम्बरको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१२ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया