मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको नेकपा वाणगंगा नगरपालिकाका अध्यक्ष विश्व कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाख बढी ठगेको आरोप लागेको छ । आफ्नै पार्टी निकट एक दर्जन युवाहरुसंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार ठगेको कुरा बाहिर आएको हो ।
बिगत डेढ महिना देखि कार्की संपर्कबिहीन रहेको ती पीडीतहरुले बताए । नेपाल प्रहरी, शिक्षा सेवा आयोग र स्वास्थ्य सेवामा जागिर लगाइदिने भन्दै कार्कीले रकम असुलेको आरोप छ । गत साउन ३२ गते गुल्मी र बाग्लुङका एक दर्जन युवाहरुले आफुहरुलाई कार्कीले ठगेको भन्दै रकम फिर्ता गराई दिन नेकपा जिल्ला कार्य समितिमा सामुहिक निबेदन दिएका थिए ।
सोही निबेदन सार्वजनिक भए पछि कार्कीले ठगेको कुरा बाहिर आएको थियो । शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्यका लागि ३ लाख र प्रहरीका लागि २ लाख ६० हजारका दरले रकम लिएको पीडीतहरुले बताएका छन् । ७ जना शिक्षा सेवा आयोग, २ जना स्वास्थ्य र ३ जना प्रहरी बन्नका लागि कार्कीलाई रकम बुझाएका थिए । ग्यारेन्टीका साथ जागिर लगाई दिने र केन्द्रिय स्तरका कर्मचारी र नेताहरुलाई रकम बुझाउन पर्ने भन्दै रकम लिइएको थियो ।
निबेदनमा शिक्षक बन्न गुल्मीको मालिका गाउँपालिकाका तारा बहादुर थापा, तेजेन्द्र घर्ती, दिपेन्द्र घर्ती, कुर्ती श्रीस, रुद्र बहादुर पुन, बाग्लुङको बडिगाउँ गाउँपालिकाका पूर्ण बहादुर बिक र श्याम घर्तीले साढे चार लाखका दरले रकम बुझाएको उल्लेख गरिएको छ । यस्तै प्रहरी बन्न बाग्लुङका नर बहादुर बिक, गंगाराम बिक, मनोज रसाइलीले ३ लाखका दरले रकम दिएका थिए ।
स्वास्थयका लागि गुल्मीका जीत बहादुर सुनार र पदम थापाले २ लाख ६० हजारका दरले बुझाएका थिए । गुल्मीको मालिका गाउँपालिका २ का दिपेन्द्र घर्तीले आफु शिक्षक सेवा अयोगबाट प्राबि शिक्षाका लागि कार्कीलाई साढे चार लाख बुझाएको बताए । ‘पैसा बुझाए पछि पास हुन्छु भन्ने ढुक्क थिए तर नतिजा प्रकाशित हुँदा हाम्रो नाम नै थिएन’ गत असोजमा बुटवलबाट आयोगमा परीक्षा दिएका उनले भने ।
गुल्मीकै अर्का पीडीत बलराम सारु मगरसंग भएको चिनजानका आधारमा कार्कीलाई पैसा बुझाएको उनले बताए । गत असारमा परीक्षाको नजिता आए पछि आफुहरु पास नभए पछि कार्कीसंग पैसा फिर्ता मागेको उनले बताए । ‘पटक पटक पैसा फिर्ता गर्न आग्रह गर्यौ, तर कुनै सुनुवाई भएन ’ उनले भने ‘त्यसैले बाध्य भएर नेकपा पार्टीमा १२ जना पीडीतले सामुहिक निबेदन हाल्यौ’ ।
कार्कीलाई खोज्न पटक-पटक उनको बाणगंगा नगरपालिका-२ स्थित घरमा जादा भेट नभएको र घर परिवारले पनि कार्कीबारे कुनै जानकारी नभएको बताएको पीडीतले गुनासो गरे । ‘कार्की मोबाईल स्विच अफ गरेर संपर्क बिहीन छन,’ उनले भने । नेकपा एक जिल्ला स्तरीय नेताले कार्की पहिले देखि नै ठगी धन्दामा लागेको बताए । ‘बिगत देखि नै कार्कीको छबी राम्रो थिएन, धेरै ब्यक्तिहरुसंग ठगेका थिए, अहिले मात्र पार्टीमा उजुरी परेको छ’ उनले भने ।
कार्कीलाई पार्टीले मात्र कारबाही गरेर नहुने उनलाई कानुनी कारबाही पनि गर्नुपर्ने उनले बताए । श्रोतका अनुसार कार्की अहिले भारतमा लुकेर बसेका छन् । उनी डेढ महिना देखि संपर्क बिहीन छन् । पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीको नगर अध्यक्ष कार्की बिरुद्ध १२ जनाले उजुरी दिएको बताए ।
‘कार्की बिरुद्ध ठगी संबन्धी उजुरी परेको छ, अहिले कार्की संपर्कमा छैनन्’ उनले भने ‘आउने शनिवार भित्र पीडीत र कार्कीबीच सामुहिक छलफल गर्छौ’ उनले भने ‘दोषी देखिए पार्टी अनुशासनको कारबाही हुन्छ’ । अध्यक्ष पोख्रेलले कार्की भारतको दिल्लीमा उपचारका लागि गएको कुरा सुनेको कुरा बताए । छलफलमा कार्की नआए पनि आफु सोही अनुसार अघि बढ्ने उनले बताए । यता नेकपाका जिल्ला इन्चार्ज गिरीधारीलाल न्यौपानेले यस विषयमा पीडितले उजुरी दिएको र त्यसको बारेमा आवश्यक छलफल हुने बताए । अहिले आफु यस विषयमा केही नबोल्ने भन्दै बाँकी निर्णय पछि थाहा भैहाल्छ नि भन्दै न्यौपानेले फोन राखे । यस बिषयमा बुझ्न खोज्दा कार्कीसंग संपर्क हुन् सकेन ।
५ भाद्र २०७६ बिहिबार ००:००
112
Shares
प्रतिक्रिया