९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतीय विदेशमन्त्रीले गरे पशुपतिमा पूजा, पारिजातको विरुवा पनि रोपे



काठमाडौं ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । उहाले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोप्नुभएको छ ।
पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उहाले पशुपतिनाथको दर्शन गर्नुभएको थियो । उहाँले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गर्नुभएको थियो ।
जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा. अजय कुमार पनि पशुपति मन्दिर जानुभएको थियो । कोषको तर्फबाट सदस्यसचिव डा. ढकाल, कोषाध्यक्ष डा. मिनल थापालगायत पदाधिकारी हुनुहुन्थ्यो ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्ने र दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उहाले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६ बिहिबार ००:००  १० : १० बजे