९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१६ लाख अवैध भारतीय रुपैयाँसहित पाँचजना पक्राउ



दाङ ।
दाङ प्रहरीले अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले दाङको अमिलियाबाट १५ लाख ७९ हजार पाँच सय ८० अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको जनाको छ ।
भारतीय रुपैयाँसहित पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका-२ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका-८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका-५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका-२ बस्ने ३४ वर्षीय मनकुमारी खत्री पक्राउ परेका हुन् ।
उनीहरुले बुद्धको मूर्तिलाई सुनको जलप लगाएर देउखुरीको राजपुर गाउँपालिका-७ को भैसाहीहुँदै भारतीय बजारमा लगेर बेचेको र त्यो पैसा लिएर नेपाल फर्किएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय असी भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ रुपैयाँ नेपाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।
राजपुर गाउँपालिकाको भैसाही नाकाहुँदै अमिलिया पुगेर बस चढ्ने क्रममा इप्रका अमिलियाको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  ६ : ५७ बजे