९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विधेयक पारितमा प्रदेश सरकारको छलाङ्, ४५ विधेयक पारित, तीन पारितको क्रममा



बुटवल ।
प्रदेश नं ५ को प्रदेशसभाबाट ४५ विधेयक पारित भएका छन् । प्रदेश सरकारले प्रदेशसभमा पेश गरेका ४८ विधेयक मध्ये ४५ विधेयक प्रदेशसभाले पारित गरेको हो । पारित भएका ४५ विधेयक मध्ये ४१ विधेयक प्रदेश प्रमुख उमाकान्त झाबाट प्रमाणिकरण समेत भैसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेयले जानकारी दिए ।
प्रदेशसभामा पेश भएका विधेयकहरु मध्ये साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश नं ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन बाँकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनबाट ८, दोस्रो अधिवेशनबाट ८, तेस्रो अधिवेशनबाट २४ र चालु चौथो अधिवेशनबाट ५ विधेयक पारित भएका हुन् । यसैबीच मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सामाजिक विकास मन्त्रालयलाई थप एक विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक स्वीकृती दिएको छ ।
प्रदेश सरकारले प्रदेश सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना र सञ्चालन तथा सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्न सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  ६ : ५३ बजे