दाङ ।
दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ ।अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ ।
दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा छन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ । जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए ।
अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उनले बताए । घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ ।
उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताए । उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए ।
प्रतिक्रिया