९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पत्रकार श्रेष्ठसहित ३ जना विरुद्धको जाहेरी प्रहरीद्वारा अस्वीकृत



काठमाडौं ।
सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
पौडेलले डिजिटल सामग्री दुरुपयोग गरेको भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, चितवनका एसपी दानबहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालामाथि विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी गरेकी थिइन् ।
तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा सोही प्रकरणमा अनुसन्धान भइरहेको भन्दै पौडेलले दिएको उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।
न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले महानगरीय प्रहरी परिसर टेकुमा आज उजुरी दर्ता गराउन पुगेकी थिइन् ।
जनआस्थामा गत साउन २९ गते पत्रकारले मर्दामर्दै खोलेको पोल शीर्षकमा पुडासैनीको भिडियो र अडियोमा आधारित समाचार छापिएको थियो । पछि आफूले नै सो भिडियो नेपाल आजका सम्पादक कोइरालालाई उपलब्ध गराएको श्रेष्ठले बताउँदै आएका थिए ।
सञ्चारकर्मी पुडासैनीको आत्महत्या प्रकरणमा टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की साउन ३० गते पक्राउ परेका थिए । अनुसन्धानका लागि भन्दै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन लगिएको थियो । सुरुमा अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद पाएको प्रहरीले हिजो सोमबार पुन थप ५ दिन अनुसन्धानका लागि अदालतबाट अनुमति पाएको छ ।
मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ । पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेसहित कँडेल र कार्कीको नाम लिएका थिए । आफूलाई आत्महत्या गर्ने अवस्थामा र्पयाउन उनीहरु जिम्मेवार भएको उनको दाबी छ ।
जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले र रवि लगायतको पक्षबाट अधिवक्ता सुनिलकुमार पोखरेलसहितले बहस गरेका थिए ।
चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  ३ : ३१ बजे