९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१८ करोड रुपैयाँ हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ



दाङ ।
दाङको नारायणपुरमा रहेको देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो । घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।
वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् ।
बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफूलाई फाइदा हुने गरी र बैंकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।
उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज बाणिज्य इजलासमा म्याद थपका लागि लगिएको छ । दाङमा वाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  २ : १९ बजे