मायादेवी अनलाइन, वाणगंगा ।
‘गिनिज बुक अफ वर्ल्ड रेकर्डर्स’ मा नाम लेखाउन सफल अर्पण शर्मा कपिलवस्तु आएका छन् । जिल्लाको वाणगंगा ७ बनगाईमा अवस्थित पारीजात इंग्लिस बोर्डिङ स्कूलले शर्मालाई यहाँ भित्राएको हो ।
मेमोरी किङ्गका रुपमा परिचित शर्माले पारीजात इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीका साथै यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यवसायीलाई दिनभर प्रशिक्षण दिएको स्कूलका प्रिन्सिपल कृष्ण केसीले जानकारी दिनुभयो । बैरियामा रहेको मायादेवी रिसोर्टमा कार्यक्रम भदौ १ गते कार्यक्रम भएको हो ।
कपिलवस्तुमै पहिलो पटक पारीजातको निमन्त्रणामा आएका शर्मा तेज स्मणशक्ति भएका युवा हुन् र उनले यही प्रतिभाका कारण आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाइसकेका छन् । उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए ।
प्रशिक्षणका क्रममा उनले विभिन्न विषयमा सबैको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीले ज्ञानको लागि पढ्नुपर्नेमा उनको जोड थियो । रिजल्टको लागि विद्यार्थीले पढ्न नहुनेमा उनले बताए ।
उनले भने, ‘स्कुलमा प्रथम हुने होडबाजी हुन्छ, कुनै एउटा प्रथम भयो, भने अर्को पनि प्रथम हुने होडमा हुन्छ’ उनले भने ‘तर हामीले त्यसरी प्रतिस्पर्धाका लागि नभएर ज्ञान लिन स्कुल जानुपर्छ ।’ शिक्षाको हब भएका देशमा गृहकार्य, रिजेल्ट भन्दा पनि ज्ञानलाई बढि ध्यान दिने गरेको उनले बताए । पारीजात स्कूलका अध्यक्ष बसन्तराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यालयमा धेरै गृहकार्य दिनु, धेरै रटाउन खोज्नु विद्यार्थीमैत्री पढाई नहुने उनको भनाई थियो ।
विद्यार्थीहरुलाई धेरै होमवर्क दिने, अनावश्यक रटान दिनु राम्रो होईन’ उनले भने– ‘यसले उनीहरुको सिर्जनशिलता नै गुम्छ ।’ त्यस्तै शिक्षकले राम्रो पढाए, ट्यूसन पढाउनुको कुनै अर्थ नहुने समेत उनले बताए । ‘शिक्षकले राम्रोसंग पढाए ट्यूसन पढाउनुपर्ने कुनै जरुरी हुँदैन’ उनले भने– ‘तर अहिले शिक्षकहरुले राम्रोसंग नपढाएर विद्यार्थीहरुलाई ट्यूसन तिर जानुपर्ने अवस्था छ ।’
अर्को तर्फ हरेक कुराहरु बच्चा अवस्थामै सिक्ने भएकाले बच्चा अवस्थामै सरल र सहज वातावरण हुनुपर्ने उनको भनाई थियो । ‘हामीले बच्चाको भविष्य राम्रो बनाउनका लागि उसका अगाडि नराम्रा कुनै पनि क्रियाकलाप गर्नुहुदैन्’ उनले भने ‘तर हामीले बच्चाकै अगाडि नराम्रा गतिविधि गर्छौं, बच्चालाई पढ् भन्छौँ तर आफै पढ्दैनौं, यस्ता क्रियाकलापले बालबालिकाको भविष्य सुधार हुँदैन् ।’ उनले स्मरण शक्ति सबैको बराबर हुने बताए । ‘स्मरण कसैको कम, कसैको बढि भन्ने भन्दा पनि हामी सबैको बराबर हुन्छ’ उनले भने ‘हाम्रो प्रयोग गर्ने तरिका मात्रै फरक हो ।’
हरेक कुरालाई अक्षर होईन्, फोटो बनाएर अध्ययन गरेमा सजिलै सम्झना सकिने बताए । ‘हामीले ट्याक्टिस लगाएर अध्ययन गरेमा सबैको स्मरण गर्न सक्छौं’ उनले भने ‘हरेक कुरालाई फोटो बनाएर अध्ययन गर्नुपर्छ ।’
शैक्षिकसस्त्र २०७६÷०७७ को सुरुवातमा विद्यार्थीहरुलाई स्मरण शक्ति सम्बन्धि तालिम दिदा अन्तिमसम्म विद्यार्थीले धेरै सिक्ने विश्वास लिएर शर्मालाई कपिलवस्तु भित्राएको प्रिन्सिपल केसीले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, वडाध्यक्षहरु विष्णु गिरी, विष्णु पौडेल, बालकुमारी अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, स्रोत व्यक्ति कविराज भण्डारी, उद्योगी रुक बहादुर भुसाल, प्याब्सन नगर अध्यक्ष राजु अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
४ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया