चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले प्रदेश ५ लागानीको लागि मुलुककै उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ । प्रदेश ५ सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय हिसाबले सबैभन्दा उत्कृष्ट रहेकाले यहाँ लगानी सुरक्षित रहेको बताउनु भएको हो । कपिलवस्तु उद्योग बाणिजय संघको १३ औँ साधारणसभा तथा नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्दै अध्यक्ष राणाले अब यस प्रदेशमा ढुक्क संग लगानी गर्न सबैलाई आग्रह गर्नुभयो ।
मूलुक संघीयतामा प्रवेश गरेपछिको आंकडालाई हेर्दा प्रदेश ५ मा धेरै विकास निर्माणका काम भइरहेको हुँदा यस प्रदेशले छिट्टै विकासमा फड्को मार्ने बताउनुभयो । नीजि क्षेत्र हर समयमा सरकारसंग सहकार्यका साथ अघि बढ्न खोज्दा खोज्दै पनि सरकारले ब्यावासीयलाई धरासयी बनाउने गरी काम गरिरहेको भन्दै अध्यक्ष राणाले तीव्र आक्रोश पोख्नुभयो । विगतमा मूलुक प्रदेश संरचनामा जाँदा उद्योगी व्यावसायीसंग एउटा सम्झौता भए पनि अहिले सरकारले त्यसको मर्म विपरित काम गरिरहेको भन्दै उहाँले आक्रोश पोख्नु भयो । सरकारको बर्तमान कार्यशैलीले उद्योगी ब्यावसायी मारमा परेको भन्दै केही विषयमा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।
पछिल्लो समय सरकारले ल्याएको भिसिटिएस प्रणाली, बैंकको ब्याजदर तथा कर नीति आदि विषयले उद्योगीहरु पलायन हुनुपर्ने अवस्था आएको बताउँदै सरकार नसच्चिए देशभरका उद्योग ब्यावसाय बन्द गरेर आफूहरु सडकमा उत्रने उहाँले चेतावनी दिनुभयो । मूलुकभरका हरेक ब्यावसायी करबाट भाग्न नखोजे पनि सरकारको कर नीतिका कारण शंकाको दृष्टिकोणले हेर्नु पर्ने अवस्था आएको उहाँको भनाई छ ।
मंचमा उद्योग बाणिज्य संघको विधान संशोधनको पक्षविपक्षमा कुरा उठेपछि त्यसको जवाफ दिँदै अध्यक्ष राणाले जे कुरा भए पनि उद्योगी व्यावसायीको हितमा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो– “कुनै विधान १० बर्षसम्म पनि संशोधन हुँदैनन् तर कुनै विधान प्रत्येक बर्ष परिवर्तन हुन सक्दछन् । त्यो समयको माग र पूर्व सहमति अनुसार हुनुपर्दछ । कसैको स्वार्थको लागि संशोधन हुने नहुने भन्ने हुँदैन ।” अध्यक्ष राणाले कपिलवस्तु उद्योग बाणिज्य संघले छोटो समयमा अत्याधुनिक भवन निर्माण गरी मूलुककै लागि राम्रो सन्देश दिएको बताउनुभयो ।
यस्तै जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान श्रेष्ठले उद्योगीहरु जहिले पनि सरकारको सारथी भएको बताउनुभयो । ब्यावसायीहरु कहिल्यै पनि करको दायराबाट पछि नहटेको बताउँदै ब्यावसायीहरु कर तिर्न खोज्दैनन् भन्ने आरोप निराधार रहेको बताउनुभयो । नेपाल सरकारका अहिलेका नीति नियम उद्योगीको हितमा नआएको उहाँको टीप्पणी छ । अहिले उद्योगीहरु दोधारको स्थितिमा रहेको बताउनु भयो । भिटिएस लगायतका प्रणाली बिना तयारी आएकाले कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
अबको ९ महिना यस प्रणालीबारे आफूहरुले सरकारको नियत कुरेर बसेको श्रेष्ठले बताउनुभयो । यो बीचमा सरकारले कुनै जरिवाना नलिने र परिक्षणको अवधिमा राखेर जाने सहमति भएकाले भिसिटिएस प्रणालीको आन्दोलन अहिलेलाई रोकिएको उहाँको भनाई छ । राजनैतिक हिसाब किताबमा सिमित ब्यक्तिले बनाउने ऐन नियम आफूहरुलाई मान्य नहुने उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले प्रदेश ५ मा लगानी सुरक्षित रहेका बताउनुभयो । मुलुकभरमा यो प्रदेश लगानीको हिसाबले सबैभन्दा महत्वपूर्ण भएको हुँदा ढुक्क भएर लगानी गर्न ब्यावसायीलाई आग्रह गर्नुभयो । यस्तै संघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले पनि सरकारले उद्योगीलाई मारमा पारेको बताउनुभयो । सरकार र ब्यावसायीको सम्बन्ध सधैँ सुमधुर हुनुपर्ने उहाको भनाई छ ।
कार्यक्रममा नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख नारायण खनाल, आन्तरिक राजस्व कार्यलय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपाने, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरी,उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य हिमराज ढकाल, सिद्धार्थ नगर उद्योग बाणिज्य संघका कुल प्रसाद उपाध्याय लगायतले बोल्नु भएको थियो ।
संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, महासचिव लक्ष्मण अधिकारीको संचालन तथा वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालको स्वागत तथा निवर्तमान अध्यक्ष यज्ञ भट्टराइको धन्यबाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच संघले कार्यसमिति भित्र तथा समाजमा रहेर बिभिन्न काममा उत्कृष्टता हासिल गरेका दर्जन बढी ब्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।
कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेलाई नगद र दोसल्लाले संघले सम्मान गरेको छ । यस्तै कपिलवस्तुकी छात्रा सविना सुवेदीले एसईई २०७५ सालमा ४ जिपिए हासिल गरी छात्रा प्रथम भएको भन्दै कदर पत्र र दोसल्लाले सम्मान गरेको छ । सबैलाई संघकी राष्ट्रिय अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतले सम्मान गर्नुभएको थियो ।
नवनिर्मित भवन उद्घाटन
यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघ नवनिर्मित भवनको उद्घाटन भएको छ । १८ महिना लगाएर तयार पारिएको अत्याधुनिक चार तले भवनको संघकी अध्यक्ष राणाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथि सबैले छोटो समयमा कपिलवस्तु उद्योग वाणिज्य संघले गरेको प्रगति सन्देश मूलक रहेको बताएका छन् । छोटो समयमा प्रदेश तथा मूलुककै उत्कृष्ट १० भवनहरुमा कपिलवस्तु रहेकोमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । १४ कोठा रहेको भवनमा एउटा सभाहल, एउटा बैठक हल तथा बाहिरबाट आउने अतिथि सत्कारका लागि वातानूकुलित अट्याच कोठाहरु रहेका छन् ।
प्रतिक्रिया