९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नवलपरासीमा जाम उस्तै, ‘डाइभर्सन’ मर्मत भएन, यात्रुहरु अनिश्चयमा



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा अझै पनि सहज रुपमा सवारी आवागमन हुन पाएको छैन । अरुणखोलामा रहेको पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’ पनि बाढीले बगाएपछि राजमार्गमा सयौँ सवारी साधन अलपत्र परेका छन् ।

आइतबार साँझ आएको बाढीले ‘डाइभर्सन’मा क्षति र्पुयाएपछि अझैसम्म पनि ‘डाइभर्सन’ मर्मतको काम राम्रोसंग भएको छैन । यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारीको लामो लाइन लागेको छ । ‘डाइभर्सन’ निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको छ ।काठमाण्डौबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलबाट यात्रा गरिरहेका छन् भने पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ । साउन २९ गते बुधबार ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगेको थियो । पुल भाँचिएपछि यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ८ : २७ बजे