मायादेवी अनलाइन, कपिलवस्तु ।
पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिए पछि आज (मंगलबार) पनि उनीसंग बयान लिइने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । बयान नसकिएकाले मंगलबार थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ । अहिलेसम्मको बयानमा रवि लामिछानेले आफूलाई आरोप लगाएर बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको बताएका छन् ।
प्रहरीका अनुसार ‘अनुसन्धानको मिसिल नै अहिलेसम्म तयार भएको छैन । ‘अनुसन्धान नै नसकिकन अदालतमा लगेर मुद्दा दर्ता गराउन नमिल्ने एब एक प्रहरी अधिकृतले बताए । प्रहरीले आरोपीको फोन कल डिटेल र मोबाइल सन्देश लिई अनुसन्धान गरिरहेको छ ।
कँडेल र कार्कीले भने इन्कारी बयान दिएका छन् । पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । पोस्टमार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ ।
यता रवि समर्थकले भने चितवनमा प्रदर्शन गर्न छोडेका छैनन् । दिनदिनै चितवनमा २ थरी ब्यापक प्रदर्शन भइरहेको छ । रवि समर्थकले रविको बिना सर्त रिहाई माग गरेका छन् भने रविका आफन्तले रवि लगायतका आरोपीलाई कानुन अनुसार कडा कारबाही हुनपर्ने बताउँदै आएका छन् । प्रहरलिे पनि अनुसन्धानमा समस्या पर्न सक्ने भन्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रतिक्रिया