९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बार्सिलोनाका कोन्टिन्होले लगाउने भए वार्यनको १० नम्बरको जर्सी



एजेन्सी ।
बार्सिलोनाका फिलिप कोन्टिन्हो लोनमा जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्धित भएका छन् । जर्मन च्याम्पियन बार्यन अट्याकिङ्ग मिडफिल्डर कोन्टिन्होलाई अन्ततः अनुबन्ध गर्न सक्ने विकल्पसहित एक सिजनका लागि लोनमा भित्र्याएको हो ।

२७ वर्षे ब्राजिलियन खेलाडी कोन्टिन्हो लोनमा आउने प्रक्रिया बार्यनले सोमबार पूरा गरेको हो। उनी सन् २०१८ को जनवरीमा लिभरपुलबाट १४२ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए । ७६ खेलमा २१ गोल गरे पनि उनले आश गरे अनुसारको प्रदर्शन नगरेको भन्दै बार्सिलोना उनलाई अरु क्लब पठाउन चाहेको थियो र त्यो पूरा भयो ।

बार्यनले कोन्टिन्होका लागि लोन अवधिमा बार्सिलोनालाई ८.५ मिलियन युरो तिर्ने छ । र उनलाई स्थायी रुपमा राख्नका लागि १२० मिलियन युरो तिर्नु पर्ने छ । बार्यनले कोन्टिन्हो लोनमा रहेको अवधिको पारिश्रमिक पनि तिर्नेछ ।म्युनिखमा आधिकारिक प्रस्तुतिको क्रममा कोन्टिन्होले भने, ‘बार्सिलोनामा हामीले सोचेजस्तै धेरै चिज भएनन् । तर अब इतिहास बन्दैछ । म यहाँ लामो समय रहने आश गर्छु र धेरै ट्रफी जित्ने चाह छ ।’

कोन्टिन्होलाई नेइमार भित्र्याउनका लागि फ्रान्सेली क्लब पिएसजीका लागि प्रस्ताव गरिएको थियो । बार्सिलोनाले ९३ मिलियन पाउण्ड तथा कोन्टिन्हो दिएर नेइमार भित्र्याउने प्रस्ताव गरेको थियो, जुन पिएसजीले अस्वीकार गरेको थियो । त्यसपछि बार्सिलोनाले उनलाई लोनमा बार्यन पठाउने तयारी थालेको थियो । कोन्टिन्होको भविष्यमा मडारिएको अनिश्चितता समाप्त भएको छ । तर नेइमारको भविष्य के हुने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ७ : ३९ बजे