९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिजनको पहिलो पेनाल्टीमै चुके युनाइटेडका पोग्वा



एजेन्सी ।

स्टार खेलाडी पउल पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो दोस्रो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा जित निकालेको युनाइटेडले सोमबार राति अवे मैदानमा भएको दोस्रो खेलमा पनि सुरुवाति अग्रता लिएको थियो । २७ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

५५ औँ मिनेटमा रुबेन नेवेसले वुल्भ्सका लागि बराबरी गोल गरे । १–१ को बराबरी रहेको अवस्थामा युनाइटेडले पुनः अग्रता लिने मौका पाएको थियो, जब उसले पेनाल्टी पायो ।

कोनर कोएडीले पोग्बालाई फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको हो । गएको सिजन तीन पेनाल्टीमा चुकेका पोग्बा नै पेनाल्टी प्रहारका लागि तम्सिए । उनले प्रहार गरेको बल रुई प्याट्रिसिओले रोके । बराबरीपछि युनाइटेडको दुई खेलबाट चार अंक भएको छ र उ चौथो स्थानमा छ।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ७ : ३६ बजे