९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अझै भएन अरुणखोलामा डाइभर्सन मर्मत, हजारौं यात्रु अलपत्र



नवलपुर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा आइतबार साँझदेखि राजमार्ग अवरुद्ध भएपछि यात्रुले सास्ती पाएका छन् ।अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’ आइतबार साँझ बाढीले बगाएको थियो । आइतबारबाट अवरुद्ध भएको यातायात सुचारु हुन नसक्दा हजारौ यात्रु सडकमा अलपत्र परेका छन् ।

गएको बुधबार नवलपुरको मध्यबिन्दु नगरपालिकामा पर्ने अरुणखोलाको पुल भाँचिएपछि यात्रा निक्कै सास्तीपूर्ण बनेको छ । २४ घण्टाभन्दा बढी समयदेखि यात्रु जाममा पर्दा निक्कै सास्ती पाएको गुनासो व्यक्त गरेका छन् । जंगल क्षेत्रमा जाम भएका कारण यात्रुहरुले पानी समेत पिउन नपाएको गुनासो व्यक्त गरेका छन् । निश्चित समयमा गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु राजमार्गमैै अलपत्र परेका छन् ।

राजमार्गमा सवारी जाम भएपछि बिरामी बोकेका एम्बुलेन्सहरु समेत घण्टौंसम्म जाममा फस्दा बिरामीलाई समेत जोखिम भएको छ । सवारी जाम बजार क्षेत्रमा भन्दा बढी जंगल क्षेत्रमा भएकोले यात्रुहरुले चाहेको समयमा पानी समेत किनेर खान पाएका छैनन् । केही ब्यापारीहरुले भने यात्रुहरुको बाध्यतालाई अवसरको रुपमा लिएर कमाउ धन्दा चलाएका छन् । ब्यापारीहरुले जंगल क्षेत्रमा अलपत्र परेका यात्रुलाई सामान्य १५ देखि २० रुपैयाँ पर्ने चाउचाउ ३५ देखि ४० रुपैयाँ र २० देखि २५ रुपैयाँमा पाइने पानीका बोत्तलहरु ५० रुपैयाँमा बिक्री गरेका छन् । बिस्कुट, कुरमुरेसमेत बजार रेट भन्दा चर्को मूल्यमा बिक्री भइरहेको छ ।

आइतबार साँझ आएको बाढीले ‘डाइभर्सन’मा क्षति पु¥याएको छ । पहाडी क्षेत्रमा वर्षा हुँदा खोलामा पानीको मात्र बढी रहेकाले ‘डाइभर्सन’ मर्मतको काम समेत प्रभावित भएको छ । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित बनेको छ । खोलामा पानीको मात्रा नघट्दासम्म डाइभर्सन मर्मतको काम गर्न नसकिने प्रहरीको भनाइ छ । माथिल्लो क्षेत्रमा पानी परिरहेकाले खोलामा पानीको मात्रा कम हुने सम्भावना भने न्यून रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पानीको सतह सोमबार दिउँसो केही कम हुँदा केही हलुका सवारी खोलाबाटै एकतर्फी रुपमा आवतजावत गरेका थिए । तर, सोमबार साँझपख फेरि खोलामा पानीको मात्रा बढेपछि यातायात ठप्प बनेको छ । ‘डाइभर्सन’ निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौं समय लाग्ने गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि उनले अनुरोध गरेका छन् । काठमाडौंबाट छुटेका यातायातलाई मुग्लिङ –पोखरा –स्याङ्जा हुदै बुटवलतर्फ जानका लागि आग्रह गरेका छन् ।

यस्तै बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरी मार्फत समेत खबर गरिएको अधिकारीले जानकारी दिए । साउन २९ गते बुधबार ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगेको थियो । पुल मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा आउन अझै १२ दिन लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ७ : ०७ बजे